पीएसजीमा असन्तुष्ट मेस्सी, विजयी गोल गर्दा समेत मतलब पनि गरेनन् !

आइतबार भएको लिग १ खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चिर-प्रतिद्वन्दी लियोन माथि २-१ को संघर्षपूर्ण जीत निकालेको छ। खेलको अन्तिम समयमा माउरो इकार्डीले गोल गर्दै पीएसजीको जीत पक्का गरेका हुन्। अन्तिम समयमा विजयी गोल प्राप्त गरेपछि पीएसजीका लगभग सबै खेलाडी खुसीले उफ्रिन थाले, एक खेलाडी बाहेक: लियोनल मेस्सी, जसले इकार्डीको विजयी गोलमा खासै प्रतिक्रिया दिएनन्।

बार्सिलोनाका पूर्व स्टार, जो यस गर्मीमा नि: शुल्क स्थानान्तरणमा पीएसजीसँग सामेल भएका थिए, उक्त खेलमा कमजोर प्रदर्शनपछि प्रतिस्थापित भएका थिए। किलियन एम्बाप्पे, एन्जल डी मारिया, नेयमार र मेस्सीको अल-स्टार फ्रन्ट लाइनले अपेक्षित रूपमा क्लिक गर्न नसकेको खेलको ५४ औं मिनेटमा लियोनका लुकास पाकेटाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउन सफल भए।

तर लियोनको अग्रता धेरै समय भने टिक्न सकेन। खेलको ६६ औं मिनेटमा पीएसजीका लागि नेयमारले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी,मा लेराएका थिए। खेल सकिन मात्र १५ मिनेट बाँकी रहँदा पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सीलाई प्रतिस्थापन गरेर सबै दर्शकलाई चकित पारे। उनको स्थानमा डिफेन्डर एकराफ हाकिमी मैदान प्रवेश गरेका थिए।

विजयी गोलको खोजीमा रहेको टोलीले फुटबल इतिहास कै सर्वश्रेष्ठ मध्ये एक खेलाडीलाई प्रतिस्थापित गर्ने निर्णयले सारा फुटबल जगतलाई चकित बनाएको थियो। जसपछि मेस्सी पनि प्रशिक्षकको निर्णयबाट सन्तुष्ट नभएको प्रष्ट देख्न सकिन्थ्यो। मेस्सीको असन्तुष्टि पीएसजीले खेलको अन्तिम क्षणमा गरेको विजयी गोल गर्दा पनि देखियो।

अन्य खेलाडीले आफू बसेको स्थानमा उफ्रिएर उक्त विजयी गोल सेलिब्रेट गर्दा मेस्सीले भने त्यस्तो केहि प्रतिक्रिया दिएनन्। उनले सामान्य रूपमा ताली मात्र बजाउँदै उक्त गोल सेलिब्रेट गरे।

प्रकाशित : मङ्गलबार, असोज ०५, २०७८१४:४९

मैदानबाट फिर्ता बोलाएको फिटिक्कै मन पराउँदैनन् मेस्सी, २०१२ मै गार्डियोलाले यसो भनेका थिए !