काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अस्ट्रेलीयाको सिड्नीमा भ्रमण वर्ष प्रचार कार्यक्रम सम्पन्न भएको बताएका छन्। भट्टराईले सामाजिक संजाल फेसबुक मार्फत नेपाल भ्रमण वर्ष २०२० को प्रचार र्याली सम्पन्न भएको बताएका हुन्।
मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको उनको भनाई छ। कार्यक्रममा न्यू साउथ वेल्स स्टेटका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिलगायतको उपस्थिति रहेको पनि उनले जानकारी गराएका छन्।
नेपाली राजदूतावासको आयोजना तथा एनआरएए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिले शुभकामना समेत व्यक्त गरेको उनको भनाई छ।
“अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो ।”,उनले लेखेका छन्।
यस्तै उक्त र्याली माथि स्थानीय प्रशासनले रोक लगाएको भन्दै समाचार आएको प्रति मन्त्री भट्टराईले आपत्ति जनाएका छन्। काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न नहुने भन्दै उनले समाचारको खण्डन गरेका छन्।
“मौन जुलुस मार्फत पर्यटन वर्षको प्रवर्द्धन गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ।”,भट्टराईले सामाजिक संजालमा लेखेका छन् ।