एजेन्सी – एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेमाथि पूनरागमन जित निकालेको छ ।
एट्लेटिकोले १० खेलाडीमा समेटिएको गेटाफेलाई २–१ ले पराजित गरेको हो । घरेलु टोलीका स्टेफन मित्रोभिकको गोल सान्त्वना बन्यो ।कोलिसिअम अलफन्सो पेरेज स्टेडियममा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर स्टेफन मित्रोभिकले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर त्यो अग्रतालाई गेटाफेले जोगाउन सकेन । ७४औं मिनेटमा कार्लाेस एलेना दोहोरो पहेँलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि दवावमा आएको गेटाफले त्यसपछि दुई गोल बेहोर्दै पराजित हुन पुग्यो । गेटाफे १० खेलाडीमा समेटिएको फाइदा पाहुना टोलीले उठाउन सफल भयो । ७८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मारियो हर्माेसोको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस सुआरेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–१ को पूनरागमनसहित महत्वपुर्ण ३ अंक दिलाए ।उनले यसपटक सिम भर्सलज्कोको पासमा गोल गरेका थिए ।
यो जितसँगै अपराजित रहेको एट्लेटिको म्याड्रिड १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिकोले ६ खेलमा चार जित र दुई बराबरीको नतिजा निकालेको छ । एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिडलाई १ अंकले पछि पारेको छ । पराजित गेटाफे अंकविहीन हुदै पुछारमा छ ।
यस्तै ला लिगाको अर्काे खेलमा एथलेटिको बिल्वाओ घरेलु मैदानमा रायो भालेकानोसँग २–१ ले स्तब्ध बन्दा सेल्टा डि भिगोले घरेलु टोली लेभान्टेलाई २–० ले पराजित गरेको छ ।