“रोनाल्डोले यो सिजन म्यानचेस्टरमा कायापलट गर्नेछन्, एक नम्बर खेलाडी पो हुन् त”

म्यानचेस्टर युनाईटेडका पूर्व गोलकिपर टोमाज कुज्जाकले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रशंसा गर्दै पूर्व रियल म्याड्रिड दिग्गजले क्लबमा ठूलो सफलता प्राप्त गर्ने विश्वास गरेका छन्।

रोनाल्डोको आगमनले म्यानचेस्टर युनाइटेडले उपाधि जित्न सुरु गर्नेमा उनी विश्वस्त रहेका छन्। ८८८ स्पोर्टसँग बोल्दै कुज्जाकले भने,”यो क्लबका लागि निकै आवश्यक रहेको थियो। फर्गुसनले छाडेपछि अरु कुनै व्यक्तिले क्लबको उद्दार गर्न सक्छ भने त्यो रोनाल्डो हुन्। साँच्चै भन्नु पर्दा पछिल्ला केहि वर्षमा म्यानचेस्टर युनाइटेड निराशजनक थियो।”

२००९ मा रोनाल्डोले रियल म्याड्रिडका लागि म्यानचेस्टर छाड्नु अगाडी कुज्जाकले पोर्चुगिज कप्तानसँग ३ सिजन खेलेका छन्। पोलिस गोलकिपरले क्लबमा रोनाल्डोको प्रभाव देख्न सुरु भइसकेको स्पष्ट पार्दै ५ पटकका ब्यालुन डी ओर विजेताले यस सिजन म्यानचेस्टरमा उपाधि लिएर आउने विश्वास राखेका छन्।

“जुन सुकै लिगमा होस्, रोनाल्डो सधैं सर्वश्रेष्ठ खेलाडी रहँदै आएका छन्। चाहे त्यो प्रिमियर लिगमा म्यानचेस्टरका साथ होस्, सरी-एमा युभेन्टसका साथ होस् वा लालिगामा रियल म्याड्रिडका साथमा होस्, हरेक क्लबमा उनको प्रभाव निकै ठूलो रहेको छ,”उनले भने,”रोनाल्डो यस्ता खेलाडी हुन् जसले सबै कायापलट गर्न सक्छन्। न्युकासल विरुद्धको खेलबाट नै देख्न सकिन्छ, दर्शकको उत्साह टोलीको जोश र खेल्ने शैली। ठूलो प्रभाव परेको छ।”

यसै सिजन मात्र युनाइटेड फर्किएका रोनाल्डोले क्लबका लागि तीन खेलमा ४ गोल गर्दै उत्कृष्ट सुरुवात गरेका छन्। उनले अहिलेसम्म खेलेका हरेक खेलमा गोल गर्न सफल भएका छन्।

प्रकाशित : बुधबार, असोज ०६, २०७८१३:१७

“प्रशिक्षणमा मेस्सी एक ‘अत्याचारी’ खेलाडी थिए”- कोम्यान