फरवार्ड नेयमार र एम्बाप्पेको चलेन जादू, डिफेन्डर हाकिमीले गरे पिएसजीको उद्धार !

एजेन्सी – मोरोक्कोका अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौ जित दर्ता गर्दा मेट्जलाई पराजित गरेको छ ।

पीएसजीले ९ खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पीएसजीका लागि दुवै गोल हाकिमीले गर्दा घरेलु टोलीका किकि कोउएटले एक गोल फर्काए । मेट्जमा बुधबार राति भएको खेलको पाँचौ मिनेटमा अचरफ हाकिमीको गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा किकि कोउएटले लामिन गुआईको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर तनावपुर्ण स्थिति बन्दा घरेलु टोली ९ खेलाडीमा समेटिन पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डेलान ब्रुन दोहोरो पहेँलो कार्ड तथा दोस्रो मिनेटमा फ्रेडेरिक एन्टोनेटी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली ९ खेलाडीमा समेटिन पुगेको थियो ।

त्यसको फाइदा पीएसजीले उठाउन सफल भयो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जितसहित महत्वपुर्ण ३ अंक दिलाए । खेलको अन्त्यतिर रेफ्रीले चार पहेँलो कार्ड र दुई रातो कार्ड देखाउनु परेको थियो ।

जितपछि सातौ खेलसम्म शतप्रतिशत जित दर्ता गरेको पीएसजी २१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलाई ७ अंकले पछि पारेको छ । यद्धपि मार्सेले एक खेल कम खेलेको छ । मेट्ज ३ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित : बिहिबार, असोज ०७, २०७८०९:३८

“अबको २ वर्ष भित्र रोनाल्डो युनाइटेडको प्रशिक्षक बन्नेछन्”