मेस्सी भन्दा पछि पनि लाम्पार्डको रोजाईमा परेनन् रोनाल्डो !

पूर्व चेल्सी स्टार फ्रान्क लाम्पार्डले बार्सिलोनाका दिग्गत द्वय रोनाल्डिन्हो र लियोनल मेस्सीलाई आफू विरुद्ध खेलेका दुई सर्वश्रेष्ठ खेलाडीको रूपमा नाम लिएका छन्। चेल्सी दिग्गजले मेस्सीका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोलाई भने सूचीमा राखेनन्।

पूर्व इंग्ल्याण्ड स्टारले क्रिस्टियानो रोनाल्डोलाई छोड्न गाह्रो रहेको स्वीकार गर्दै आफूले पोर्चुगिज स्टारलाई कहिल्यै पनि उनको पिकमा सामना नगरेको स्पष्ट पारे। २००८ को च्याम्पियन्स लिग फाइनलमा रोनाल्डो विरुद्ध खेलेका लाम्पार्डले यस्तो बताएका हुन्। त्यो समयमा रोनाल्डो विश्व कै बेस्ट खेलाडी थिए।

तर लाम्पार्डको नजरमा भने रोनाल्डोले म्यानचेस्टर छाडेर रियल प्रस्थान गरेपछि मात्र शिखरमा पुग्न सफल भएका थिए। जसको मतलब लाम्पार्डको विरुद्ध खेलेका सर्वश्रेष्ठ खेलाडीमा दुई पूर्व बार्सिलोना स्टार मेस्सी र रोनाल्डिन्हो पर्छन्। एक पोडकास्टमा बोल्दै उनले भने,”म दुई जनाको नाम लिन्छु: एक मेस्सी, किनकि उनी सर्वश्रेष्ठ हुन्। रोनाल्डोका लागि मलाई नराम्रो लागेको छ। उनी पनि निकै उत्कृष्ट खेलाडी हुन्। ठूला-ठूला खेलमा प्रभाव पार्छन्, तर मैले रोनाल्डोको शिखरमा उनको सामना गरिन। तर मेस्सी विरुद्ध खेल्दा डर लाग्ने गर्थ्यो।”

दोस्रो खेलाडीका रूपमा उनले पूर्व ब्राजिलियन सुपरस्टार रोनाल्डिन्होको नाम लिए। “अर्को भनेको रोनाल्डिन्हो, २००५ मा हामी क्याम्प नाउमा खेल्दै थियौं। त्यो नै पहिलो पटक हो जब मैले अर्कै ग्रहका खेलाडी विरुद्ध खेले। उक्त खेलमा रोनाल्डिन्हो र इटो, विशेषगरी रोनाल्डिन्हो अर्कै स्तरका खेलाडी थिए। उनलाई देख्दा म चकित भएको थिएँ,” लाम्पार्डले भने।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८१५:२४

बार्सिलोनाले भेट्टायो नयाँ प्रशिक्षक, कोम्यानको दिनगिन्ती शुरु !