चितवन । नेकपा (माओवादी केन्द्र का अध्यक्ष प्रचण्डसँग आगामी निर्वाचनमा तयार रहेको नेकपा एमालेका नेता रामबहादुर थापा (बादल) ले बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यो विषयमा अहिले नभए पनि आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन सक्ने संकत गरे । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
माओवादी कार्यकर्ता आफूतिर आइरहेको जिकिर गर्दै बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ । कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुँडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनुभएको छ । त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’
पूर्वमाओवादी नेतासमेत रहेका उनले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप लगाए । उनले सभामुखले लोकतन्त्र, विधि उल्लंघन गरिरहेको जिकिर गरे । बादलले भने, ‘अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको छ ।’ उनले अमेरिकी सहयोग परियोजना एमसिसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने एमालेको धारणा रहेको बताए ।