एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले उमेर ढल्कँदै गएका कारण सोचेर मात्र हरेक कदम चाल्नुपर्ने अवस्था रहेको बताएका छन्। केहि केहि हप्ता भित्रै उमेरले ४० टेक्न लागेका ज्लाटनले एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा उमेर ढल्कँदै गएको र त्यसलाई मध्यनजर गर्दै हरेक कदम चल्नु पर्ने अवस्था रहेको बताएका हुन्।
मानिसक रुपमा आफू युवा भएपनि ज्यानले साथ दिन्छ-दिँदैन भन्ने कुरालाई ध्यानमा राखेर आफू अगाडी बढ्ने ज्लाटनले बताए। अब आउने समयमा शरीरले गर्ने हरेक संकेतलाई राम्रोसँग ध्यान दिनुपर्ने अवस्थामा आफू रहेको उनको भनाई छ।
युवा अवस्थामा हुँदा सामान्य शरीर दुख्दा त्यसलाई मतलब नगर्ने गरेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको ज्लाटनले सुनाए। शरीरले गर्ने हरेक संकेतलाई बुझ्नुपर्छ भन्ने कुरा आफूले महसुस गरिसकेको ज्लाटनको भनाई छ।
“युवा अवस्थामा हुँदा मैले खेललाई मात्र प्राथमिकता दिएँ। शरीर दुख्दा खासै मतलब गरिनँ। त्यतिबेला म खेल्न र जित्न मात्र चाहन्थे। समय र अनुभव पश्चात मैले शरीरले दिने हरेक संकेतलाई बुझ्नु पर्छ भन्ने महसुस गरेको छु।”,ज्लाटनले भने।
त्यस्तै ज्लाटनले आफू ‘सुपरम्यान’ नभएको पनि बताए। शरीरमा केहि खराबी नहोस् भनेर हरेक कदम सोचेर मात्र चाल्ने ज्लाटनको योजना छ। आफू ४० वर्ष पुग्दै गरेको अवस्थामा अब शरीरले दिने हरेक संकेतलाई ध्यानमा राखेर मात्र अगाडी बढ्ने उनले बताए।
उनले भने,”मेरो शरीर बूढो हुँदै गइरहेको छ। यस वर्ष मैले मेरो शरीर सुन्नु पर्नेछ, शरीरले पठाउने हरेक सानो भन्दा साना संकेतलाई बुझेर मात्र अगाडी बढ्नुपर्नेछ। मैले आफू सुपरम्यान होइन भनेर बुझ्नु पर्नेछ।”