“सबै खेलाडी फिट भएपछि बार्सिलोनाले आगो बाल्छ, सबै क्लबको ब्याण्ड बजाउँछ”

बार्सिलोनाका सहायक प्रशिक्षक अल्फ्रेड श्रेउडरले सबै खेलाडी फिट भएको अवस्थामा बार्सिलोना निकै बलियो टोली रहेको दाबी गरेका छन्। आइतबार लेभान्ते विरुद्ध ३-० को जीत निकालेपछि प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानको अनुपस्थितिमा टोलीको नेतृत्व गरेका श्रेउडर खेलाडीको प्रदर्शनबाट सन्तोषजनक देखिए।

काडिज विरुद्धको खेलमा रातो कार्ड पाएका कोम्यान २ खेलका लागि प्रतिबन्ध भएका कारण आइतबार उनका सहायक प्रशिक्षक श्रेउडरले टोली सम्हालेका थिए। गत नोभेम्बरमा चोटिल भएका युवा स्टार अन्सु फातीले पुनरागमन गरेको खेलमा नै गोल गरेपछि श्रेउडर निकै प्रशन्न देखिए। अन्सु फाती निकै प्रतिभाशाली खेलाडी भएको बताउँदै अन्य खेलाडी पनि चोटबाट फर्किएपछि बार्सिलोना निकै मजबूत टोली हुने उनले दाबी गरेका छन्।

क्लबका सबै खेलाडी फिट राख्न सकेको खण्डमा धेरै क्षमतावान खेलाडी क्लबमा रहेको श्रेउडर विश्वास गर्छन्। “मलाई लाग्छ यदि हामीले सबै खेलाडीलाई फिट राख्न सक्यौं भने हाम्रो टोली निकै मजबूत हुनेछ,”बार्सिलोनाका सहायक प्रशिक्षकले भने।

तर अहिलेको स्थितिमा भने फिट रहेका खेलाडीमा विश्वास देखाउनु बाहेक कुनै विकल्प नरहेको उनको ठम्याई रहेको छ। बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिग म्याच डे २ अन्तर्गत पोर्चुगिज क्लब बेन्फिकाको सामना गर्नेछ।

प्रकाशित : सोमबार, असोज ११, २०७८१५:३६

कोम्यानको पिडामा फातीको ‘मलम’, रोकिएला बर्खास्ती ?