एजेन्सी – च्याम्पियन्स लिगमा आज सबै भन्दा महत्वपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र म्यानचेस्टर सिटी एक अर्काको सामना गर्दैछन्। पिएसजीले सिटीलाई घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सिटीको आतिथ्यता गर्नेछ।
आज हुने खेलमा पिएसजी गएको च्याम्पियन्स लिगको सेमिफाइनलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ भने सिटी पुनः जित दोहोर्याउने दाउमा हुनेछ। गत च्याम्पियन्स लिगको सेमिफाइनलमा पिएसजी सिटीसंग घरेलु मैदानमा २-१ ले तथा सिटीको घरेलु मैदानमा २-० ले पराजित भएको थियो।
मेस्सी खेल्ने सम्भावना कति ?
घुँडाको चोटका कारण पछिल्ला दुई खेल गुमाएका लियोनेल मेस्सी सिटी विरुद्ध खेल्ने उच्च सम्भावना रहेको छ। विभिन्न खेल मिडियाहरुले बताएअनुसार मेस्सी केहि दिन देखि पिएसजीको प्रशिक्षणमा सहभागी भैसकेका छन्। आज हुने खेलमा मेस्सी खेलेको खण्डमा उनी आफ्ना पूराना प्रशिक्षक पेप ग्वार्डिओलाको टीम विरुद्ध खेल्नेछन्।
च्याम्पियन्स लिगमा अहिले सम्म सिटी र पिएसजी ५ पटक आमने सामने भएका छन्। जसमा पिएसजीले अहिले सम्म सिटीलाई हराउन सकेको छैन। अहिले सम्म भएका पाँच भेटमा सिटीले तीन खेलमा जित निकालेको छ भने २ खेलमा बराबरी।
कति बजे कहाँ हेर्ने ?
पिएसजी र सिटीको खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। पार्क डेस प्रिन्सेसमा हुने उक्त खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैन। पिएसजी र सिटी विरुद्धको खेल भारतीय च्यानल सोनी टेन २ बाट प्रशारण हुनेछ।