पुन: रोनाल्डोको ओझेलमा परे मेस्सी !

एजेन्सी – आफ्नो कीर्तिमानी खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको छ । भिल्लारियलविरुद्धको खेलमा पछि परेको युनाइटेडले उत्कृष्ट पूनरागमनका साथ २–१ ले खेल जितेको थियो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । खेलभरमा खासै प्रभाव जमाउन नसकेका रोनाल्डोले खेलको अन्तिम समयमा पाएको मौका भने खेर जान दिएनन् ।

इन्डिसनका काभानीले प्राप्त बललाई फ्रेन्डलाई दिए । फ्रेडले क्रस गरेको बलमा रोनाल्डोले हेड गर्दै जेसी लिङ्गार्डलाई दिए । लिङ्गार्डले त्यो बल फेरि रोनाल्डोलाई दिए । त्यहि बलमा रोनाल्डोले गोल गर्न सफल भए । उनको प्रहारलाई भिल्लारियलका गोलकिपरले रोक्ने प्रयास गरेपनि बल उनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

त्यसअघि ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले कुनै गल्ती नगरी गोल गरे । तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलमा कप्तानी गरिरहेको ब्रुनो फर्नान्डेजको चलाखीपूर्ण फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो । समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ । १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ ।

भिल्लारियल विरुद्ध रोनाल्डोको विजयी गोलले मंगलबार पीएसजी स्टार मेस्सीको नयाँ क्लबका लागि गरेको पहिलो गोललाई ओझेलमा पारेको छ। प्रिमियर लिओग च्याम्पियन म्यान सिटी विरुद्ध मेस्सीले सुन्दर गोल गर्दै फ्रेन्च क्लबको जर्सीमा पहिलो गोल गरेका थिए।

प्रकाशित : बिहिबार, असोज १४, २०७८११:२९

बर्खास्तीको चर्चाका बाबजुत कोम्यानलाई खेलाडीहरुको साथ, क्लबको भने टुंगो भएन !