गत वर्ष स्थगित भएको ब्यालुन डी ओर अवार्ड यस वर्ष पुन: फर्कंदैछ। पछिल्ला १२ मध्ये १ पटकका विजेता रोनाल्डो र मेस्सी जस्ता ठूला नाम मनोनयनको सूचीमा फेरी पनि पर्ने आशा गरिएको छ।
फ्रान्स फुटबलका अनुसार यस वर्षको ब्यालुन डी ओर अवार्डका लागि मनोनयन ८ अक्टोबर २०२१ मा सार्वजनिक गरिनेछ भने आधिकारिक समारोह २९ नोभेम्बर २०२१ मा पेरिस, फ्रान्सको थिएटर डु च्याटलेटमा हुनेछ। गत वर्ष यस पुरस्कार कोरोना महामारीका कारण स्थगित भएको थियो। १९५६ मा यसको स्थापनापछि गत वर्ष पहिलो पटक कुनै कारणले यो अवार्ड स्थगित भएको हो। फ्रान्स फुटबलले वार्षिक पुरस्कार रद्द गर्ने निर्णय गर्नु अघि बार्यन म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले गत सिजन यो उपाधि जित्ने अपेक्षा गरिएको थियो।
लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबै २०२१ को ब्यालुन डी ओर को लागि मनोनित हुने अपेक्षा गरिएको छ। मेस्सी यस अवार्डका ६ पटकका विजेता हुन् भने रोनाल्डो ५ पटकका ब्यालुन डी ओर विजेता हुन्।
सधैं जस्तै मनग्य रूपमा गोल गर्ने रोनाल्डोको गत सिजन पनि गोल गर्ने गति उस्तै नै थियो। तर पनि प्रमुख उपाधिको कमी रहँदा यस वर्ष उनले ब्यालुन डी ओर जित्ने सम्भावना निकै कम मात्र रहेको विश्वास गरिएको छ। अर्जेन्टिनी कप्तान मेस्सी भने यस पटकको अवार्ड जित्ने प्रमुख दाबेदार रहेका छन्। बार्सिलोनाका साथ व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले कोपा अमेरिका उपाधि हात पारेसँगै उनलाई करियरको सातौँ ब्यालुन डी ओर जित्ने प्रमुख दाबेदारको रूपमा हेरिएको छ।
अन्य दाबेदारको रूपमा हेर्दा अवश्य पनि बार्यन स्टार रोबर्ट लेवान्डोस्कीका साथै चेस्ली मिडफिल्ड जोडि एन्गोलो कान्ते र जर्जिन्हो रहेका छन्।