एजेन्सी – गएको डेढ दशक भन्दा बढी समय देखि विश्व फुटबलमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको राज छ। अन्तर्राष्ट्रिय फुटबलमा मात्र नभई क्लब फुटबलमा पनि दुवैको राज रह्यो। लालिगाबाट मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा दुई बीच उच्च तहको प्रतिष्पर्धा रह्यो। निजी उपाधि देखि अन्य उपाधिहरुमा अपनी यी दुई बीच तिब्र प्रतिष्पर्धा रहेको थियो।
दुवै सुपरस्टारले यसै सिजन क्लब परिवर्तन समेत गरे। रोनाल्डो युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुगे भने मेस्सी बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। क्लब परिवर्तन पछि नयाँ क्लबमा घुलमिल हुन मेस्सीलाई केहि समय लागेपनि रोनाल्डोलाई भने त्यस्तो समय केहि लागेन। हुन त उनी पहिला पनि युनाइटेडबाट खेलिसकेका थिए।
यस हप्ता च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेस्सी र रोनाल्डो दुवैले आफ्नो-आफ्नो क्लबका लागि गोल गरे। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा मेस्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी विरुद्ध गोल गरेका हुन्।
त्यस्तै रोनाल्डोले पनि च्याम्पियन्स लिगमा भिल्लारियल विरुद्ध गोल गरे। रोनाल्डोले थप गरिएको समयको अन्तिम समयमा गरेको गोलमा नै युनाइटेड विजयी भएको थियो।
मेस्सी र रोनाल्डो: च्याम्पियन्स लिगका राजाहरु
मेस्सी र रोनाल्डो दुवैले यस हप्ता आफूहरु अझै च्याम्पियन्स लिगको राजा भएको पुष्टि गरेका छन्। यस हप्ता गोल गरेसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या १ सय ३६ पुगेको छ। १ सय ७८ खेल खेल्दा रोनाल्डोले यो संख्यामा गोल गरेका हुन्। त्यस्तै मेस्सीको गोल संख्या पनि १ सय २१ पुगेको छ। उनले रोनाल्डो भन्दा २७ कम खेल अर्थात १ सय ५१ खेल खेलेका छन् ।
उच्च लयमा रोनाल्डो, लय समात्दै मेस्सी
रोनाल्डो युनाइटेडमा सहजै घुलमिल भैसकेका छन्। रोनाल्डोले युनाइटेडका लागि पाँच खेल खेल्दा पाँचै गोल गरेका छन्। जबकी मेस्सी भने बल्ल खाता खोल्न सफल भए। नयाँ लिग र नयाँ क्लबबाट खेल्न मेस्सीलाई केहि असहज भएपनि उनी क्रमिक रुपमा लयमा फर्किने आशा गर्न सकिन्छ।