एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड करिमले पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पे कुनै न कुनै दिन रियल म्याड्रिडमा हुने दावी गरेका छन्।
एक मिडियालाई विस्तृत अन्तर्वार्ता दिनेक्रममा बेन्जेमाले एम्बाप्पे एक दिन रियलमा हुने पक्का रहेको बताएका हुन्। एम्बाप्पे आफैंले रियल आउने विषयमा आफूलाई बताएको बेन्जेमाको भनाई छ।
फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्ने बेन्जेमाको एम्बाप्पेसँग धेरै राम्रो सम्बन्ध छ। एम्बाप्पे र बेन्जेमा बीचको मित्रता विभिन्न अवसरहरुमा देखिने गरेको छ। बेन्जेमा रियल म्याड्रिडका मूख्य खेलाडी छन् भने एम्बाप्पे पिएसजीको मूख्य खेलाडीको रुपमा रहेका छन्। बेन्जेमा आफैं पनि एम्बाप्पे रियल आउन् भन्ने चाहन्छन्।
“एम्बाप्पे केहि परिवर्तन चाहन्छन्। कुनै दिन उनी रियल म्याड्रिडबाट खेल्नेछन्।”,बेन्जेमाले भने,”कहिले त मलाई थाहा छैन। तर उनी पक्का रियल म्याड्रिडमा आउनेछन्। यो सबै समयले नै बताउनेछ।”
एम्बाप्पे आफैंले रियल म्याड्रिड आउन चाहेको बताएको बेन्जेमाले बताए। उनले भने,”उनले मलाई आफैं भनेका छन् कि उनी परिवर्तन चाहन्छन्। समय आएपछि उनी रियलमा हुनेछन्।
त्यस्तै बेन्जेमाले रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब रहेको पनि बताए। फुटबलको नयाँ पुस्ता शुरु भएपनि रियल विश्वको उत्कृष्ट फुटबल क्लब कायम रहने बेन्जेमाले बताए। नयाँ पुस्ताका खेलाडीहरुमा अहिले लगानी गर्न सक्ने पछि गएर ती खेलाडी स्टार बन्ने बेन्जेमाको भनाई छ ।