एकाएक फेरिए लापोर्टा, कोम्यान बर्खास्तीबाट लिए यु-टर्न !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना अहिले सम्मकै खराब र कठिन अवस्थाबाट गुज्रिरहेको कुरा नौलो रहेन। आर्थिक सहितका विभिन्न समस्यासंग बार्सिलोना जुधिरहेको छ।

क्लबका सबै भन्दा महत्वपूर्ण खेलाडी लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोना झनै समस्यामा परेको छ। एकातिर बार्सिलोनाले घरेलु लिगमा राम्रो प्रदर्शन गर्न नसकेर तनावमा छ भने अर्को तिर बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिने अवस्थामा छ।

बार्सिलोनाको यस्तो कम्जोर अवस्था पश्चात प्रशिक्षक रोनाल्ड कोम्यान सबै भन्दा बढी तनावमा छन्। पछिल्लो समय बर्खास्त गर्न बार्सिलोना भित्र आवाज पनि उठ्न थालेपछि उनको तनाव दोब्बर भएर गएको छ।

केहि समय अगाडी कोम्यान र बार्सिलोना अध्यक्ष जोआन लापोर्टा बीच असमझदारी बढेको खबर समेत आएको थियो। विभिन्न स्पेनिस मिडियाहरुले लापोर्टा कोम्यानलाई बर्खास्त गर्ने पक्षमा रहेको दावी गरेका थिए।

तर तमाम दावी विपरित लापोर्टाले कोम्यान नै प्रशिक्षकमा कायम रहने बताएका छन्। लालिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिकोसंग खेल्नु अगाडी पत्रकारहरुसंग कुराकनी गर्दै लापोर्टाले नतिजा जे जस्तो भएपनि कोम्यान नै प्रशिक्षकको रुपमा रहने स्पष्ट पारे।

कोम्यान बार्सिलोनाका लेजेण्ड भएका कारण तत्काल आत्मविश्वास गुमाइहाल्नुपर्ने अवस्था नरहेको पनि लापोर्टाले बताए। बार्सिलोना अफ्ठेरोबाट गुज्रिरहेको अवस्थामा कोम्यान माथि भरोसा गर्नु र कुर्नुको विकल्प नरहेको लापोर्टाको भनाई छ।

प्रकाशित : शनिबार, असोज १६, २०७८२०:३५

ईपीएल : विराटनगरको १ सय ७३ रनको लक्ष्य, सजिलै हासिल गर्यो पोखराले