जापानी राजकुमारीको सर्वसाधारण नागरिकसँग बस्यो प्रेम, विवाह गर्न त्याग्ने भइन् शाही हैसियत !

काठमाडौँ – जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्ने घोषणा गरेकी छन् । जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्वसहपाठीसमेत रहेका आफ्ना प्रेमीसँग यही महिना विवाह गर्ने तयारी गरेकी छन् ।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ । उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक संकटका कारण विवाह सारिएको थियो । विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ । उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन् ।

स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए । राजकुमार फुहिमितो र कोमुरोको परिवारलाई जोडेर पछिल्ला वर्षहरूमा आएका समाचारले राजकुमारी माको मानसिक आघातको सिकार भएको इम्पेरियल हाउसहोल्ड एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था क्योदोले जनाएको छ ।

यसअघि राजपरिवारकै अर्की सदस्यले पनि पुरुष उत्तराधिकारी चयन गर्न दिइएको दबाबका कारण तनावसम्बन्धी समस्याबाट बिरामी परेको बताइएको छ । जापानमा मानसिक समस्यालाई समाजमा नराम्रो रूपमा चित्रित गर्ने गरिएको छ ।

राजकुमारीको जोडीबीच सन् २०१२ मा टोकियोको एक अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा भेट भएको थियो । सन् २०१७ मा ‘इन्गेजमेन्ट’ गरेको यो जोडीले त्यसको एक वर्षपछि विवाह गर्ने तय गरेको थियो । तर त्यही बीचमा कोमुरोकी आमाले एक जनासँग लिएको ऋण नतिरेको र उनको परिवार आर्थिक समस्यामा रहेको समाचारहरू बाहिर आएका थिए । तर दरबारले विवाह स्थगित हुनुमा कारण त्यो नभएको बताउँदै आएको छ ।

यद्यपि राजकुमार फुहिमितोले उनीहरूको विवाहअघि आर्थिक विषयहरू सल्टाउनु पनि महत्पूर्ण रहेको बताएका थिए । राजकुमारी माकोले जापानमा परिवारबाट छुट्टिने शाही सदस्यले पाउने १३ लाख अमेरिकी डलरसमेत त्याग गर्ने बताइएको छ । उनले परम्परागत शैलीको शाही विवाहसमेत नगर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : आइतबार, असोज १७, २०७८०८:१४

यातायात व्यवसायी आफैंले बढाए भाडा, काठमाडौंमा न्यूनतम भाडा यति लिन थाले !