काठमाडौं । अमेरिका–इरानबीच चर्किंदै गएको द्वन्दले मध्यपूर्वमा रहेका नेपालीहरु त्रसित हुन थालेका छन् । विशेष गरी इराकमा रहेका नेपालीहरु त्रसित अवस्थामा रहेपनि निरन्तर नेपाली दूतावासको सम्पर्कमा रहेको बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
अमेरिकाले इरानका एकजना सैन्य जनरलको हत्या गरेपछि त्यसको जवाफमा इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा क्षेप्यास्त्र प्रहार गरेपछि थप तनाव उत्पन्न भएको छ । द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन् । उनीहरु सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन् । उनीहरुका अनुसार अहिले अन्य देशले आफ्ना नागरिकलाई स्वदेश फर्काउन सुरु गरिसकेका छन् ।
इरान–अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका हुन् । त्यहा रहेका नेपालीहरुका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फिर्ता बोलाउन थालिसकेको छ । अधिकाशं सडकहरु अहिले दिउसै सुनसान हुन थालिसकेका छन् भने बजार पसल पनि सामान्य रुपमा मात्र खुलेका छन् ।
इराकको एक होटलमा लामो समयदेखी काम गरिरहेका गोरखाका जीतमान गुरुङका अनुसार अहिले बम प्रहार भएका केही अवाजहरु भने सुनिएको बताएका छन् । यद्यपि तत्कालै अवस्था भने नबिग्रएको र यस्तै अवस्था रहे केही दिनपछि खतरा हुन सक्ने औंल्याए ।
यता, इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ । सो दूतावासले त्यहा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको र अवस्था बिगर्ने वित्तिकै उद्धारमा जुटने बताएको छ ।
यसैबीच, परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई उच्च सतर्कता (हाई अलर्ट)मा रहन निर्देशन दिएको छ । इरान–अमेरिका आमनेसामने भएपछि २० पुसमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा श्रममन्त्री रामेश्वर राय यादव, परराष्ट्र सचिव शंकरदास वैरागी र श्रम मन्त्रालयका सचिव विनोद केसी लगायतको उपस्थितिमा छलफल गरी कूटनीतिक नियोग र महावाणिज्यदूतका कार्यालयहरूलाई तीन बुँदे निर्देशन दिइसकेको छ ।
इराकका छिमेकी देशहरू इरान–अमेरिका तनावको चेपुवामा छन । यूनाइटेड अरब इमिरेटस् (यूएई) र साउदी अरबमा समेत इरान–अमेरिका तनावको बाछिटा पुगिसेको छ । कुनै पनि बेला ती देशहरूमा समेत आक्रमण हुनसक्ने आकलन हुन थालेको छ ।
वैदेशिक रोजगारीका लागि दुबई र साउदी अरबमा लाखौं नेपालीहरू कार्यरत छन् । त्यसैगरी, इजरायल, लेबनान, जोर्डन र सिरियामा पनि वैदेशिक रोजगारीका लागि नेपालीहरू पुगेका छन् । इराक–अमेरिका तनावको असर अफगानिस्तान, अजरबैजान लगायतका देशमा केही क्षेत्रमा पनि पर्न सक्ने आकलन विदेशी सञ्चार माध्यममा आएका छन् ।
त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा ध्यान दिन र समस्या परेमा जुनसुकै बेला उद्धार गर्न सक्ने तयारी अवस्थामा रहन कूटनीतिक नियोगलाई निर्देशन दिइएको छ । परराष्ट्र मन्त्रालयको जारी गरेको निर्देशनमा ती देशहरूको परिस्थितिको मूल्यांकन गरी नियमित रूपमा परराष्ट्र मन्त्रालयमा जानकारी गराउन भनिएको छ । त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपाली नागरिकसँग नियमित र निकट सम्पर्कमा रहन र नेपाली नागरिकलाई पनि नेपाली नियोगहरूसँग नियमित सम्पर्कमा रहन अनुरोध गर्न भनिएको छ ।
त्यसैगरी, मध्यपूर्वी देशहरूमा रहेका नेपालीहरूलाई अति आवश्यक पर्दा बाहेक धेरै लामो यात्रामा ननिस्कन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ । कूटनीतिक नियोगले दिएको रिपोर्टको बारेमा छलफल गरी आवश्यक योजना बनाउनको लागि २४ पुसमा परराष्ट्रमन्त्रीको समन्वयमा पुनः बैठक बस्न लागिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।