एजेन्सी – फुटबलवृत्तमा चलिरहेको एक हल्ला अनुसार माउरिसियो पोचेटिन्हो छिट्टै नै पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट ‘आउट’ हुँदैछन्। फुटबलर एन्टोनियो कसानोले पोचेटिन्हो छिट्टै नै पिएसजीबाट आउट हुने बताएका हुन्।
धेरै जस्तो बोलिरहने र बोलेकै कारण विवादमा समेत पर्ने गरेका कसानोले पिएसजीमा पोचेटिन्होको समय धेरै लामो नरहेको र उनी बारे धेरै खराब हल्लाहरु आफूले सुनेको बताए।
ट्वीचमा रहेको बोबो टिभी च्यानलमा क्रिस्टियन भिएरीसँग कुराकानी गर्नेक्रममा कसानोले मानिसहरुले आफूलाई पोचेटिन्हो बारे धेरै नराम्रा कुराहरु सुनाएको मात्रै बताएनन्, पिएसजीको नयाँ प्रशिक्षक को हुन सक्छन् भनेर पनि संकेत गरे।
“पोचेटिन्होको पीएसजीमा समय निकै कम छ। मानिसहरुले उनीबारे निकै नराम्रो कुराहरु सुनाएका छन् । मैले निकै नराम्रो हल्लाहरु सुनेको छु ।”,क्रिस्टियन भिएरीसँग कुराकानी गर्दै कसानोले भने।
पोचेटिन्हो मानिसको रुपमा धेरै राम्रो भएपनि एक कोचको रुपमा भने उनलाई कठिन भैरहेको कसानोले बताए। उनले भने,”उनी निकै राम्रो मानिस हुन्, तर कोच… उनी एक मिनेट पनि रणनीतिक छलफल गर्दैनन् र खेलाडीहरूले पनि यसको माग गरिरहेका हुन्छन् ।”
पोचेटिन्होले पिएसजीका खेलाडीहरुलाई उल्टै कसरी खेल्ने भनेर सुझाव माग्ने गरेको कसानोको दावी छ। आफूले पिएसजीका अधिकारीहरुले जिनेदिन जिदान माथि आँखा लगाउन भनिसकेको थाहा पाएको कसानोले बताए।
पोचेटिन्हो आउट जिदान इन
रियल म्याड्रिड छाडेयता जिदान खालि छन्। जिदानको नाम पछिल्लो समय कुनै पनि क्लबसँग जोडिएको छैन। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार जिदान फ्रान्सको राष्ट्रिय टोली र पिएसजी मध्ये एक टोलीको प्रशिक्षक बन्न सक्छन्।
जिदानले रियलमा हुँदा गेराथ बेल, करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीहरुलाई कोच गरेका थिए। साथै स्टार खेलाडी बीच सन्तुलन बनाएर उनले लगातार तीन च्याम्पियन्स लिग पनि रियललाई दिलाएका थिए।
अहिले पिएसजीमा विश्वका तीन स्टार फुटबलर छन्। एम्बाप्पे-मेस्सी र नेयमार जस्ता स्टार खेलाडीलाई पोचेटिन्होले सम्हाल्न नसकिरहेको आलोचना भैरहेको छ। यदि यी तीन स्टार खेलाडीको सहि रुपमा व्यवस्थापन यदि कसैले गर्न सक्छन् भनर ती जिदान हुन्।