काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालय, सानेपामा जारी धर्ना र अनसनबारे कुरा उठाउँदा पौडेल र सभापति शेरबहादुर देउवाबीच भनाभन भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेस कार्यालय सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफूहरुले अनसन अन्त्य गर्ने वातावरण बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले बताए ।
‘८० दिनदेखि सानेपामा पार्टीका नेता कार्यकर्ताहरु रिले अनसन र धर्नामा छन् । सर्लाहीका नेताहरुले आमरण अनसन शुरु गरेका छन्,’ वरिष्ठ नेता पौडेलले भने, ‘पार्टीमा देखिएको क्रियाशील सदस्यताबारे सभापतिको ध्यानाकर्षण गराउन हामी बालुवाटार गएका हौं ।’ सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता अनसनमा बस्दै आएका छन् ।
नेता पौडेलले क्रियाशील सदस्यताबारे आफूहरुले उठाएका मुद्दाबारे नेतृत्व भने संवेदनशील नदेखिएको बताए । ‘पार्टी कार्यालयमा जारी धर्ना र अनसन तोडाउनेतर्फ जाने कि सहमतिका नाममा पेलेर अगाडि बढ्ने भनेर हामीले प्रश्न ग¥यौं,’ पौडेलले भने, ‘क्रियाशील सदस्यताको विषय लाजमर्दो भइसक्यो ।’
कांग्रेसले बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता अझै टुंग्याउन सकेको छैन । बालुवाटारमा भएको छलफलमा देउवासँगै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता सहभागी थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिलाई भेट्न जानुअघि पौडेल समूहका नेताहरुबीच छलफल भएको थियो । उनीहरुले क्रियाशील सदस्यताका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका थिए ।
काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी कुराकानी भएपनि निर्णय भने हुन बाँकी छ । काँग्रेसको हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन ।