एजेन्सी – केहि दिन अगाडी लालिगा अन्तर्गतको खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई पराजित गर्यो। उक्त खेलमा बार्सिलोनाका पूर्व खेलाडी लुइस सुआरेज नायक बनेका थिए।
खेलमा भएका दुवै गोलमा सुआरेजको भूमिका थियो। सुआरेजले एक असिस्ट दिएका थिए भने एक गोल पनि गरेका थिए। गोल गरेपछि सुआरेजले बार्सिलोना समर्थकसँग हात जोडेर माफी नै मागेका थिए। सुआरेज त्यतिमा मात्र रोकिएका थिएनन्।
सुआरेजले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान तर्फ लक्षित गर्दै फोनकल सेलेब्रेसन समेत गरेका थिए। सुआरेजको उल्ट सेलेब्रेसन सिधा कोम्यान प्रति लक्षित थियो। बार्सिलोनाबाट निकाल्दा कोम्यानले गरेको व्यवहार सम्झिएर सुआरेजले त्यस्तो गरेका थिए।
हालसालै सुआरेजले एक अन्तर्वार्तामा गरेका केहि खुलासाहरुले फोनकल सेलेब्रेसन किन गरेका थिए भन्ने स्पष्ट पारेको छ। पछिल्लो एक अन्तर्वार्ताका क्रममा सुआरेजले आफूलाई कोम्यानले फोन गरेको र सबै कुरा स्पष्ट नपारी फोन राखिदिएको बताएका छन्।
सुआरेजका अनुसार कोम्यानले सुआरेजलाई मात्र ४० सेकेन्डमा आफ्ना कुराहरु राखेर फोन राखेका थिए। खुलेर नबोलि फोन राखेर कोम्यानले भाग्ने काम गरेको सुआरेजको बुझाई छ।
सुआरेजको यो भनाईबाट के पुष्टि हुन्छ भने उनले बार्सिलोना विरुद्ध गोल गरेपछि सोहि फोन कलको जवाफ स्वरूप फोनकल सेलेब्रेसन गरेका थिए। र त्यो सिधा रुपमा कोम्यान प्रति लक्षित थियो।

