स्पेन र बार्सिलोनाका भविष्य गाभी, जसले भेराट्टी जस्ता खेलाडीलाई छायाँमा पारे !

एजेन्सी – केहि हप्ता अगाडी सम्म पाब्लो गाभिरा (गाभी) बार्सिलोना एकेडेमी पछ्याउने व्यक्तिहरु बीच मात्रै परिचित नाम थियो। न त धेरैले उनलाई चिन्थे, न त उनको कतै चर्चा थियो। तर बुधबार रातिको स्पेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेसँगै एकाएक उनको नाम चर्चामा आएको छ।

गाभी स्पेनको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी मात्र बनेका छैनन्, उनको फुटबल कौशलताले धेरैलाई चकित समेत बनाएको छ। १७ वर्ष ६२ दिनका गाभीलाई मौका दिएका प्रशिक्षक लुइस इनरिकेले गाभीलाई ८४ मिनेटसम्म मैदानमा रहन दिए।

त्यसबीचमा गाभीले धेरै राम्रो फुटबल कौशलता देखाए। उनको प्रदर्शनलाई लिएर अहिले सर्वत्र चर्चा छ। केहि अन्तराष्ट्रिय संचार माध्यमहरुले मार्को भेराट्टीलाई ओझेलमा पार्ने किसिमको प्रदर्शन गाभीले गरेको दावी गरेका छन्।

कप्तान सर्जियो बुस्क्वेट्स र कोकीसँग रहेर युरोपियन च्याम्पियन इटालीविरुद्ध मिडफिल्ड सम्हालेका उनको इटालीका पत्रिकाहरुले पनि चर्चा र प्रशंसा गरेका छन्।

“उनी भर्खरका केटा हुन्, सन् २००४ मा जन्मिएका। तर उनले परिपक्क फुटबलर जस्तै खेले। “,इटालियन पत्रिका ला गज्जेट्टाले लेखेको छ,”केन्द्रमा रहेर उनले गज्जब खेले। भेराट्टी जस्तो खेलाडीलाई समेत समस्यामा पारे।”

इनरिकेले पनि गरे प्रशंसा

खेलपछि प्रशिक्षक इनरिकेले पनि गाभीको खुलेर प्रशंसा गरे। भेराट्टीलाई रोक्ने र नियन्त्रण गर्ने जिम्मेवारी दिइएपनि गाभीले त्यो भन्दा बढी र राम्रो गरेको इनरिकेले बताए। उनले भने,”भेराट्टीलाई मार्क गर्ने जिम्मा उनलाई दिइएको थियो। तर उनले त्यो भन्दा बढी गरे। “

गाभीलाई आउने समयमा थप अवसर दिइनुपर्ने आवश्यकतालाई आफूले राम्रोसंग बुझेको पनि इनरिकेको भनाई छ। गाभी भविष्य मात्र नभई वर्तमान भएको उनले बताए। इनरिकेले भने,”उनी भविष्य मात्र होइनन्, वर्तमान पनि हुन्। “

रोबर्टो मान्चिनीले के भने ?

खेलमा हारे बेहोरेपछि इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले गाभीमा अविश्वसनीय प्रतिभा देखेको बताए। १७ वर्षको उमेरमा यो स्तरको प्रदर्शन गर्नु सामान्य कुरा मान्न नसकिने मान्चिनीको भनाई छ।

“मात्र १७ वर्षको उमेरका लागि गाभी गज्जबका खेलाडी हुन्।”,मान्चिनीले भने,”स्पेन पुस्ता पछि पुस्ता अविश्वसनीय प्रतिभा जन्माइरहेको छ। यस्ता खेलाडी हुनु उनीहरुको भाग्य हो।”

फ्रान्समा पनि चर्चा

गाभी बारे फ्रान्समा पनि राम्रो चर्चा चलेको छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलाडी भेराट्टीलाई आछु-आछु पारेपछि फ्रान्सका पत्रिकाहरुले गाभीले कसैसँग नडराई प्रदर्शन गरेको बताएका छन्।

फ्रान्सक धेरै राष्ट्रिय दैनिकले गाभीले भेराट्टीलाई हराएको उल्लेख गरेका छन्। गाभीले धेरै नै परिपक्क खेल प्रदर्शन गरेको एक फ्रेन्च पत्रिकाले टिप्पणी गरेको छ। “भेराट्टील जस्तो मिडफिल्ड उस्ताद विरुद्ध गाभीले आफ्नो कला देखाए, उनी कसैसँग डराएनन्। कप्तान सर्जियो बुस्क्वेट्स र कोकीसँग मिलेर उनले मिडफिल्डमा राज गरे। “

स्पेन र बार्सिलोना दुवैको भविष्य

इटाली विरुद्धको प्रदर्शन पश्चात गाभी स्पेन र बार्सिलोनाको भविष्य रहेको चर्चा चुरु भएको छ। धेरैले लालिगामा संघर्षरत बार्सिलोना र स्पेन दुवैको प्रमुख खेलाडीको रुपमा गाभी अगाडी बढ्ने अनुमान गरेका छन्।

पहिला रियल बेटिसको एकेडेमीमा रहेका गाभी ११ वर्षको उमेरमा बार्सिलोनाको युथ एकेडेमी ला मासियामा पुगेका थिए । सेप्टेम्वर २०२० मा उनले बार्सिलोनासँग व्यवसायिक सम्झौता गरेका थिए ।

त्यसको एक वर्षपछि उनले १७ वर्षको उमेरमा स्पेनिस ला लिगामा गेटाफेविरुद्ध खेल्दै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले बार्सिलोनाको सिनियर टोलीबाट ७ खेल खेलिसकेका छन् ।

प्रकाशित : बिहिबार, असोज २१, २०७८१६:२१

एम्बाप्पे पीएसजी मै बस्ने सम्भावना बढ्यो ? रियल म्याड्रिडको के हुन्छ अब ?