“अहिले मेस्सी-रोनाल्डो-एम्बाप्पे-नेयमार भन्दा सलाह धेरै माथि छन्”

एजेन्सी – प्रिमियर लिगका पूर्व मिडफिल्डर रोबी साभेजले वर्तमान अवस्थामा विश्वको उत्कृष्ट खेलाडी मोहम्मद सलाह रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा साभेजले हालको अवस्थामा सलाह विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन्।

साभेजले अहिले सलाह क्रिस्टियानो रोनाल्डो तथा लियोनल मेस्सी मात्र नभई किलियन एम्बाप्पे र नेयमार भन्दा पनि माथि रहेको बताए। एक टीम बनाउनुपर्ने फरवार्डको रुपमा सबै भन्दा पहिला सलाहलाई रोज्ने साभेजको भनाई छ।

“मो सलाह अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन्। के म सलाहलाई मेस्सी र रोनाल्डो भन्दा माथि राख्छु ? पक्कै पनि, नेयमार र एम्बाप्पे भन्दा माथि पनि। यदि एक टीम छान्ने हो भने अहिले मेरा लागि पहिलो छनौट हुनेछन्।”,साभेजले भने।

साभेजले सलाह रचनात्मकताको हिसाबले मात्र नभई असिस्टको हिसाबले पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताए। उनले भने,”म भन्न चाहन्छु, मो सलाह रचनात्मकता मात्र नभई असिस्टका हिसाबले पनि विश्वको उत्कृष्ट खेलाडी हुन्।”

प्रिमियर लिग अन्तर्गत सलाहले म्यानचेस्टर सिटी विरुद्ध गरेको गोल पछिल्लो समय चर्चामा छ। उक्त गोल पश्चात धेरैले सलाहको खुलेर प्रशंसा गरिरहेका छन्। धेरैले उनको उक्त गोललाई बार्सिलोनामा हुँदा मेस्सीले गरेका गोलहरुसँग दाँज्न थालेका छन्।

प्रिमियर लिगमा सलाहले जारी सिजनमा ६ गोल गरिसकेका छन्। गोलसंख्यामा सलाह रोनाल्डो भन्दा ३ गोलले अगाडी छन्। सलाह अहिले प्रिमियर लिगका सर्वाधिक गोलकर्ता पनि हुन्।

प्रकाशित : शनिबार, असोज २३, २०७८०८:५६

बालोन डिओरको मनोनयन सार्वजनिक, को-को परे ? [सूची सहित]