एजेन्सी – गएको केहि वर्ष देखि लगातार चर्चामा रहेका बोरुसिया डर्टमुन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डको ट्रान्सफरमा सबैको चासो छ। युरोपका धेरै जस्तो क्लबले उनलाई प्राथमिकतामा राखेको कारण ट्रान्सफर होड धेरै नै रोमान्चक हुने देखिन्छ। यो कुरा अहिले नै स्पष्टसँग भन्न सकिन्छ कि हालाण्डका लागि ठूला भन्दा ठूला क्लब भिड्नेछन्।
अझ रोमान्चक कुरा के छ भने आउने समर ट्रान्सफर लाग्नेबितिकै हालाण्डको रिलिज कल्ज सक्रिय हुनेछ। प्रकाशमा आएअनुसार हालाण्डको रिलिज कल्ज ७५ मिलियन युरो आसपास रहेको छ। हालाण्ड जस्तो खेलाडीका लागि ७५ मिलियन तिर्नु त जुनै पनि क्लब तयार होलान्। तर हालाण्डले डिमाण्ड गरिरहेको तलबले भने सबै क्लबलाई तनावमा पार्नेछ।
हालाण्डका एजेन्ट मिनो राइओला अहिले देखि नै हालाण्डको ट्रान्सफरको गृहकार्यमा जुटिसकेको खबर आएका छन्। बाहिरिएको खबरअनुसार हालाण्डलाई उच्च पारिश्रमिक दिलाउने गरी उनी नयाँ क्लबको खोजिमा जुटेका छन्। उनी हालाण्डलाई वार्षिक ५० मिलियन युरो आसपासको पारिश्रमिक दिलाउन चाहन्छन्।
हालाण्डलाई भित्र्याउन बायर्न म्युनिख इच्छुक देखिएपनि हालाण्डको गन्तव्य बायर्न नहुने स्पष्ट जस्तै छ। गएको ट्रान्सफर विन्डोमा चेल्सीले राइओलासँग कुराकानी गरेको थियो। तर चेल्सीसँग कुराकानी अगाडी बढाउन डर्टमुन्डले सिधै अस्विकार गरेको थियो। पछि चेल्सीले रोमेलु लुकाकु भित्र्यायो। हालको अवस्था हेर्दा हालाण्ड भित्र्याउने होडमा बार्सिलोना देखिँदैन। चरम आर्थिक संकटका कारण बार्सिलोना यसरी थालिएको छ कि उसले अब ठूलो पारिश्रमिक तिर्न सक्दैन।
यदि हालाण्डले ५० मिलियन आसपास पारिश्रमिक माग गर्छन् भने रियल म्याड्रिड पनि हालाण्ड भित्र्याउने होड देखि बाहिरिने पक्का जस्तै छ। रियलको प्राथमिकता किलियन एम्बाप्पे छन्। एम्बाप्पे भित्र्याउन सकेको खण्डमा रियल ५० मिलियन पारिश्रमिक हालाण्डलाई दिन सक्ने अवस्थामा हुनेछैन।
यस्तो भएको खण्डमा हालाण्डको मात्र दुई गन्तव्य हुन सक्छन्, पेरिस सेन्ट जर्मेन(पिएसजी) र म्यानचेस्टर सिटी। समय बित्दै जाँदा हालाण्ड भित्र्याउने होस् थप तातिदै जानेछ। यस्तोमा हालाण्डलाई भित्र्याउन चाहने क्लब कुन-कुन छन् भन्ने स्पष्ट हुँदै जानेछ।

