एजेन्सी – फ्रान्स फुटबलले सन् २०२१ को बालोन डी’ओरको अन्तिम ३० मनोनयन सार्वजनिक गरेको छ। फ्रान्स फुटबलले शुक्रबार राति बालोन डी’ओरको अन्तिम ३० मनोनयन सार्वजनिक गरेको हो।
मनोनयनमा फ्रान्सेली क्लब पीएसजीबाट ४ तथा इटालियन क्लब युभेन्ट्स, स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलानबाट समान दुई खेलाडी परेका छन्। मनोनयनको सूचीमा परेका मेस्सी, रोनाल्डो, लेवान्डोस्की र जर्गिन्होलाई अवार्डको दावेदारको रुपमा हेरिएको छ।
सन् २०२१ मा उत्कृष्ट प्रदर्शन गरेर पनि केहि खेलाडी पनि मनोनयनमा पर्न सकेनन्। बालोन डी’ओरको अन्तिम ३० मा पर्न नसकेका योग्य ५ खेलाडीहरु निम्न छन्।
कासेमिरो
यस पुस्ताकै उत्कृष्ट रक्षात्मक मिडफिल्डर मध्ये एक रहेका कासेमिरोले सन् २०२१ उनका लागि धेरै राम्रो रह्यो। लगभग वर्षभरी नै उनले एकनासको प्रदर्शन गरे। रियल म्याड्रिडमा आक्रमण सेट गर्ने देखि खेलमा विपक्षिको डिफेन्स तोड्ने सम्ममा उनको भूमिका रह्यो। ब्राजिलको राष्ट्रिय टिमका लागि पनि उनले एक लिडरको रुपमा रहे। कासेमिरो विश्वकै उत्कृष्ट मिडफिल्डर भएको नाताले बालोन डी’ओर मनोनयनका हकदार थिए। तर, उनी शिर्ष ३० मा अटाउन सकेनन्।
ईमी मार्टिनेज
अर्जेन्टिना कोपा अमेरिका २०२१ को विजेता बन्दा ईमी मार्टिनेजको भूमिका धेरै महत्वपूर्ण रह्यो। ईमी मार्टिनेज हुन्थेनन् भने अर्जेन्टिना सायदै कोपा अमेरिका जित्न सक्थ्यो। उनले कोपा अमेरिकामा चट्टान जस्तै अर्जेन्टिनाका लागि प्रदर्शन गरे। कोलम्बियालाई सेमिफाइनलमा हराउँदा उनकै मूख्य्य भूमिका थियो। एस्टन भिल्लाका लागि पनि उनले वर्षभरी नै धेरै राम्रो प्रदर्शन गरे। कोपा अमेरिका जित्ने लियोनेल मेस्सी मनोनयनमा पर्छन् भने ईमी मार्टिनेज पनि मनोनयनका हकदार थिए।
फेडेरिको चेइसा
यस वर्षको बालोन डी-ओरको मनोनयनमा ५ खेलाडी पर्न सफल भएका छन्। तर युरोकप विजेता फेडेरिको चेइसा भने मनोनयनमा पर्न सकेनन्। २३ वर्षीय फरवार्डले इटालीलाई युरो च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। महत्वपूर्ण गोलका कारण नै इटाली युरोको फाइनलमा प्रवेश गरेको थियो। चेइसाको ड्रिबलिङ कलाले पनि धेरैलाई चकित पारेको थियो। वर्तमान अवस्थामा चेइसा युभेन्टसका सबै भन्दा उत्कृष्ट खेलाडी समेत रहेका छन्। यस वर्ष बालोन डी’ओरको मनोनयनमा नपरेपनि यस्तै रफ्तारले प्रदर्शन गर्दै गए आउने वर्षमा उनी मनोनयनमा पक्कै हुनेछन्।
जान ओब्लक
गएको सिजन एथ्लेटिको म्याड्रिड एकपटक पुनः रियल म्याड्रिड र बार्सिलोना भन्दा उत्कृष्ट देखियो। बार्सिलोना र रियलको मनमानि चलिरहेको लालिगा उपाधि एथ्लेटिकोले उचाल्यो। एथ्लेटिको च्याम्पियन बन्दा जान ओब्लकको कम भूमिका रहेन। जान ओब्लक फर्ममा नभएको भए सायदै एथ्लेटिको च्याम्पियन बन्न सक्थ्यो। खास भन्नुपर्दा गएको केहि सिजन देखि उनी धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। एकनासको प्रदर्शन गरिरहेका कारण पनि उनी बालोन डी’ओर मनोनयनका हकदार थिए।
थोमस मुलर
रोबर्ट लेवान्डोव्स्की निस्सन्देह बालोन डी’ओरका हकदार छन्। गएको सिजन गोल संख्यामा रेकर्ड नै बनाएका रोबर्ट लेवान्डोव्स्की जारी सिजनमा पनि राम्रो लयमा छन्। तर बायर्न म्युनिखका थोमस मुलर पनि कम लयमा छैनन्। गएको सिजन ३३ बुन्डेसलिगा खेल खेल्दा ११ गोल र १९ असिस्ट दिएका थिए। उनको बुद्धिमान चाल, पासिङ नहुने हो भने लेवान्डोव्स्की धेरै गोल गर्न सक्दैनथे। गएको १ वर्ष भन्दा बढी समय देखि उनी जुन लयमा छन्, त्यो पक्कै पनि बालोन डी’ओर मनोनयनको हकदार थियो।

