अलमुताइरी भन्छन् -‘जित्ने सम्भावना १ प्रतिशत छ, तर भारत बलियो छ भन्दैमा डराइन्न’

काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी आफ्नो बोली र व्यवहारका कारण चर्चामा छन् । उनी हरेक खेल अघिको बोलीले केहि न केहि तरंग पैदा गरेको हुन्छ । अहिले माल्दिभ्समा दक्षिण एसियाका ५ टोली साफ च्याम्पियनसिपको उपाधिका लागि भिडिरहेका छन् ।

सहभागी टोली मध्ये आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन् । त्यसमा नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंक, माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ । १ अंकका साथ अंकतालिको पुछारमा रहेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिसकेको छ ।

२ खेल जितिसकेको नेपाल र २ खेलमा बराबरी गरेको भारत एक पटक फेरि च्याम्पियनसिपमा आइतबार आमनेसामने हुँदैछन् । यस्तोमा अब्दुल्लाले भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको बताएका छन् ।

‘भोलीको खेल महत्त्वपूर्ण छ । भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो , सात पटकको विजेता हो । यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, उनले भने,‘ भोलीको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ ।’

भारत बलियो टोली भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताएका छन् । ‘विश्व वरीयतामा हामी भन्दा भारत निकै माथि छ । तर हामी उनीहरुसँग डराउँदैनौं । सम्मान गर्छौं’, उनले भने,‘ हामी जित्नका लागि प्रयास गर्नेछौं ।’

अलमुताइरीकै प्रशिक्षणमा नेपाली टोलीले गत महिला दशरथ रंगशालामा भारतविरुद्ध २ मैत्रीपूर्ण खेल जितेको थियो । भदौं १७ गतेको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो ।

राष्ट्रिय टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि तयार रहेको बताएका छन्र । ‘हामी लक्ष्यमा पुग्नका लागि एक एक कदम चालिरहेका छौं’, उनले भने,‘ दुई कदम अघि बढेका छौं । भारतविरुद्धको खेल हाम्रो लागि अर्को एउटा कदम हो । भारत बलियो टोली हो तर हामी पनि कमजोर भने छैनौं ।’

प्रकाशित : शनिबार, असोज २३, २०७८१९:०४

हकदार भएरपनि यी खेलाडीलाई भाग्यले साथ दिएन, बालोन डी’ओर मनोनयनमा परेनन् [सूची सहित]