काठमाडौं । मौसमपूर्वानुमान महाशाखाले आज (सोमबार) बाट पुनः हिउँदे झरी पर्ने जनाएको छ ।
महाशाखाका अनुसार भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको हो । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको जनाइएको छ । यो खबर आज सौर्य अनलाइनमा प्रकाशित गरिएको हो।
पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु रहेको समेत उल्लेख गरिएको छ ।
सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ ।
यसैगरी, रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।