पिएसजीका खेल निर्देशक लियोनार्डो लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएपछि यो सिजन फ्रेन्च क्लबमा सामेल हुने निर्णयले स्तब्ध भएका थिए। लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता जुनको अन्त्यमा समाप्त भएपछि क्याटालान क्लबले पूर्व काप्तानलाई नयाँ सम्झौता प्रस्ताव गर्न सकेन। जसपछि ३४ वर्षीय अर्जेन्टिनी स्टार फ्रेन्च क्लब पीएसजीसंग अनुबन्ध भएका हुन्।

६ पटकका ब्यालुन डी ओर विजेता बार्सिलोनामा रहेर क्लबलाई कठिन चरणबाट उद्धार गर्नको लागि तत्पर रहेका थिए। तर आर्थिक संकटमा रहेको स्पेनिस क्लब बार्सिलोनाले मेस्सीलाई नयाँ सम्झौता प्रस्ताव गर्न सकेन। बार्सिलोना छोडेपछि मेस्सीले बार्सिलोनाका पूर्व सहकर्मी नेयमारसंग पीएसजीमा पुनर्मिलन हुने निर्णय गरे। मेस्सीको उक्त निर्णयले पीएसजीका खेल निर्देशक लियोनार्डोलाई समेत अचम्ममा पार्यो।

इटालियन पत्रकार फाब्रीजियो रोमानोका अनुसार उनले भने,”मेस्सी बार्सामा रहन विश्वस्त थिए। तर जब बार्सिलोनाले मेस्सी क्लब छोड्ने घोषणा गरेपछि हामीले आधिकारिक रूपमा वार्ता गर्न तर्फ लाग्यौं र त्यो निकै नै ठूलो कुरा थियो किनकि सबैको लागि उक्त घटना आश्चर्यको कुरा थियो।”

लियोनल मेस्सीले बार्सिलोनामा १७ वर्ष बिताए, जसको क्रममा उनले क्लबलाई १० ला लिगा, सात कोपा डेल रे र चार च्याम्पियन्स लिग उपाधि जित्न मद्दत गरे। मेस्सी बार्सिलोनाका सबै प्रतिस्पर्धामा ७७८ खेलमा ६७२ गोल गर्दै बार्सिलोनाको सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्। बार्सिलोनामा रहँदा ६ पटक ब्यालुन डी ओर विजेता घोषित भएका अर्जेन्टिनी कप्तानले आफूलाई फुटबल जगत कै सर्वश्रेष्ठ मध्ये एकको रूपमा स्थापित गरेका छन्।

