यूईएफए नेसन्स लिगमा बेल्जियम विरुद्ध इटालीको तेस्रो स्थानको खेल हुनु भन्दा पहिले फ्रान्सइन्फोसंग एक साक्षात्कारमा बोल्दै इटाली तथा पेरिस सेन्ट जर्मेण स्टार मार्को भेराटीले लियोनेल मेस्सीको प्रशंसा गरेर थाकेनन्। मार्को भेराटीको टोली इटालीले बेल्जियमलाई २-१ ले पराजित गर्दै नेसन्स लिगमा तेस्रो स्थान हाँसिल गरेको छ।

मेस्सीको बारेमा फ्रान्सइन्फोले सोधेको प्रश्नको जवाफमा भेराटीले स्टारको प्रशंसा गर्दै उनलाई संसारको सबैभन्दा महान् खेलाडीको रूपमा वर्णन गरे। इटाली स्टारका अनुसार पेरिस सेन्ट जर्मेनका खेलाडीहरु मेस्सीको उमेर बिर्सन्छन् जब उनीहरु ३४ वर्षीय स्टारसंग हुन्छन्।
उनले भने,”जीवनले मलाई संसारको सर्वश्रेष्ठ खेलाडीसंग दैनिक रूपमा खेल्ने मौका दिएको छ। शारीरिक रूपमा मेस्सी धेरै राम्रो छन्, र बलसंग त झन उत्कृष्ट छन्। जब हामी उनीसंग हुन्छौं, हामी उनको उमेर भुल्छौँ। उनी हाम्रो विरुद्ध निकै मजबूत थिए, जसको हामी अहिले उनी हाम्रो टोलीमा हुँदा फाइदा उठाउँदै छौं।”

पेरिसमा चोटसंग संघर्ष गर्दै सिजनको सुरुवात गरेका भेराटी पछिल्ला केहि खेलहरुमा पेरिस सेन्ट जर्मेनको सुरुवाती ११ मा लगातार देखा परेका छन्। फ्रेन्च क्लबका लागि उनले यस सिजन ४ खेल खेलेका छन्। उनी लियोनल मेस्सीको साथमा पनि खेलेका छन्, यद्यपि अर्जेन्टिनी कप्तानले नयाँ क्लबमा संघर्षपूर्ण सुरुवात गरेका छन्। पीएसजीमा निकै सुस्त सुरुवात गरेका ६ पटकका ब्यालुन डी ओर विजेताले क्लबका लागि ५ खेलमा मात्र एक गोल गर्न सफल भएका छन्।
मेस्सी र भेराटी दुबैले यस वर्ष आ-आफ्नो देशका साथ सफलताको आनन्द लिए। भेराटीले इटालीका साथ युरोकप २०२० को उपाधि जित्दा मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जिताए।

