हालै पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै पोखरामा विश्वकै भिरालो सुपरम्यान जिपलाइन सुरु भएको छ । यो अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले सुरु गरेको हो । भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको छ ।
सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो ।
“समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी रहेको छ । यस्तो भिरालो भएको जिपलाइन विश्वमै नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन पनि दिईसकेको छ ।
जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्य अवलोकन गर्न पाउछन् ।
३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन् । जिपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महिना मर्मत गरिन्छ । हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण(सेफ्टी अडिट) गराईन्छ ।
नेपालीका लागि रु छ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० राखिएको छ । अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो ।
जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रुपमा रहेको यहाँ जोडिसँगै अङ्गालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ । जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिँदै महर्जनले हेम्जामा छिट्टै विभिन्न साहसिक खेल थप्ने योजना रहेको बताउनुभयो ।
नेपाल आउने युरोपियन, अष्ट्रेलियन, कोरियन आदि देशका अधिकांश विदेशी पर्यटक साहसिक पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो । पछिल्ला समयमा नेपाली पनि घुमफिर गर्ने बढ्दै गएको छ।

