रियल मड्रिड २०२१ को ब्यालोन डी ओर करीम बेन्जेमाले जित्ने अभियानको पछाडि पूर्ण रूपमा लागिपरेको छ। यस्तोमा स्वयम् फ्रेन्च स्टार बेन्जेमाले स्वीकार गरेका छन् कि उनी आफ्ना पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोले लगातार यस अवार्ड उठाएको देख्दा आफूले पनि उक्त अवार्ड कुनै दिन जित्न सक्ने सोचेका थिए।।
२०१८ मा रोनाल्डोले रियल म्याड्रिड छाडेसँगै क्लबलाई आफ्नै काँधमा डोहोर्याई रहेका रियल स्टारले २०२१ मा आफ्नो करियरकै सर्वश्रेष्ठ प्रदर्शन गर्दै आएका छन्। जसको कारण उनलाई ब्यालुन डी ओर जित्न बार्यन स्टार रोबर्ट लेवान्डोस्की जत्तिकै दाबेदारको रूपमा हेर्न सुरु गरिएको छ। पोलिस स्ट्राइकर धेरैका हिसाबले यस वर्षको ब्यालुन डी ओर जित्ने दाबेदार रहेका छन्।
बेन्जेमाले ईएसपीएनलाई भने, “यो सधैं एक लक्ष्य रहेको छ, मेरो मनमा सधैं यो थियो, जब क्रिस्टियानो रोनाल्डोले जित्ने गर्थे, मलाई लाग्यो कि म यो पनि जित्न सक्छु।” तर आफ्नो करियर कहिल्यै पनि उक्त अवार्ड जित्न सफल नभएको र पछिल्ला ३-४ वर्षको प्रदर्शनका कारण आफूलाई यसको लायक सोच्न सुरु गरेको भन्दै उनले अब त्यो दिन धेरै टाढा नरहेको समेत बताएका छन्।
गत सिजन लालिगामा २३ गोल गरेका फ्रेन्च स्टारले राष्ट्रिय टोलीका लागि केहि हप्ता अगाडी मात्र नेसन्स लिगको उपाधि जित्न सफल भएका छन्। सिजनको सुरुवात निकै उत्कृष्ट तरिकाले गरेका बेन्जेमा, मेस्सी र लेवान्डोस्कीलाई २०२१ को ब्यालुन डी ओर अवार्डको प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

