एजेन्सी – बेल्जियन क्लब ब्रुगका गोलरक्षक साइमन मिग्नोलेटले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) भन्दा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उत्कृष्ट रहेको बताएका छन्।
च्याम्पियन्स लिग अन्तर्गत समूहचरणको तेस्रो खेलमा सिटीसंग ५-१ को गोल अन्तरले पराजित भएपछि मिग्नोलेटले पिएसजी भन्दा सिटी धेरै उत्कृष्ट रहेको बताएका हुन्। लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे भएको पिएसजीसँग भन्दा पनि सिटीसँग खेल्न बढी गाह्रो भएको मिग्नोलेटले बताए।
खेलको २५ मिनेटसम्म खेल नियन्त्रणमा रहेपनि त्यसपछि खेल आफूहरुको नियन्त्रण भन्दा बाहिर पुगेको मिग्नोलेटको भनाई छ। पहिलो हाफमै दुई गोल खाएपछि दोस्रो हाफ झनै कठिन हुने कुरा आफूहरुले पहिला नै अनुमान गरेको मिग्नोलेटले बताए।
“मलाई लाग्छ कि हामीले खेलको नतिजा स्वीकार गर्नु पर्छ र हामीले विपक्षीको गुण र टीमका खेलाडीहरुको उत्कृष्टतालाई स्वीकार गर्नु पर्छ।”,खेलपछि मिग्नोलेटले पत्रकारहरुलाई बताए।
मेस्सी, नेयमार, एम्बाप्पे सहितको पिएसजीलाई ब्रुगले १-१ को बराबरीमै रोकेको थियो। पिएसजीको तर्फबाट भएका १ प्रहर बाहेक सबै प्रहार मिग्नोलेट विफल पारेका थिए। सिटीको खेल अगाडी नै आफूहरुले सिटी विरुद्धको खेल पिएसजी भन्दा बढी कठिन हुने आफूहरुको पूर्वानुमान थियो भन्ने मिग्नोलेटको भनाई छ।
पिएसजी विरुद्धको खेलमा आफूहरुले मेस्सी-नेयमार-एम्बाप्पेको मात्रै सामना गर्नुपरेको भएपनि सिटी विरुद्धको खेलमा भने पूरै टीमको सामना गर्न परेको मिग्नोलेटले बताए। पिएसजीबाट तीन तिरबाट आक्रमण भएपनि सिटीले सबैतिरबाट आक्रमण गरेको र त्यसले आफूहरुको डिफेन्सलाई तोड्न सफल भएको मिग्नोलेटको भनाई छ।

