सुआरेजले गरे एट्लेटिकोको उद्धार !

एजेन्सी – दुई गोलले पछि परेको अवस्थामा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिड हारबाट जोगिएको छ । घरेलु मैदानमा एट्लेटिकोले रियल सोसिडाडसँग २–२ गोलको बराबरी खेलेको हो ।

वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको सातौ मिनेटमा नै पछि परेको थियो । एलेक्सान्डर सोर्लाेथले एलेक्सान्डर इसाकको पासमा रियल सोसिडाडका लागि गोल गरेका थिए ।

४८औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै रियल सोसिडाडको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेपनि एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । ६१औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्कने संकेत दिए । उनले जोआओ फेलिक्सको पासमा गोल गरेका थिए ।

७७औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । मेरिनोले पेनाल्टी बक्समा सुआरेजलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै एट्लेटिकोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् । यो बराबरीपछि रियल सोसिडाड १० खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । एट्लेटिको १८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

अर्काे खेलमा सेभियाले लेभान्टेलाई ५–३ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । सेभियाको जितमा ओलिभर टोरेस, राफा मिर, डिएगो कार्लाेस, मुनिर इल हाड्डाडी र फर्नान्डोले गोल गरे । लेभान्टेका जोस लुइस मार्लेसले दुइ तथा गोन्जालो मेलेरोले गोल गरेपनि हार टार्न सकेन ।

सेभियाको ९ खेलबाट २० अंक छ । समान २० अंक नै रहेपनि रियल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लेभान्टे ५ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८०९:१७

को हो प्रिमियर लिगको राजा ? सलाहले देखाइदिए !