एजेन्सी – अन्ततः लिभरपुलका मोहम्मद सलाहले हालको अवस्थामा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट लयमा रहेको पुष्टि गरिदिएका छन्। आइतबार युनाइटेड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै सलाहले आफ्नो स्तरलाई पुष्टि गरिदिएका हुन्।
आइतबार म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल हुनु अगाडी हालको अवस्थामा रोनाल्डो र सलाह मध्येको उत्कृष्ट भनेर बहस चलेको थियो। तर म्यानचेस्टरको हारसँगै उक्त बहसमा पूर्णविराम लागेको छ।
आइतबारको खेलमा न त रोनाल्डोले कुनै जादू देखाउन सके, न त लिभरपुलको डिफेन्स अगाडी टिक्न नै। रोनाल्डोले लिभरपुलको डिफेन्स खासै तोड्न सकेनन्। लिभरपुलको डिफेन्स विरुद्ध निरिह भएका रोनाल्डोमा निराशा स्पष्ट देखिथ्यो।
रोनाल्डोको तर्फबाट प्रहार हुँदै नभएको भने होइन। खेलको ५२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि गोल गरेका थिए। जुन गोलले मान्यता पाउन सकेन।
सलाहको ह्याट्रिक
म्यानचेस्टर विरुद्धको खेलमा विस्फोट भएका सलाहले उत्कृष्ट ह्याट्रिक गरे। खेलको ३८ औं मिनेटमा केइटाको पासमा गोलमा सलाहले गोल गरे। पहिलो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा सलाहले अर्को गोल गरे।
उनले जोटाको पासमा गोल गरेका थिए। जससँगै युनाइटेड पहिलो हाफमै ३-० ले पछि पर्यो। सलाहले दोस्रो हाफको सुरुवातमै अर्को गोल गरे। त्यससँगै उनको ह्याट्रिक पूरा भयो।
यससँगै सलाह म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ह्याट्रिक गर्ने प्रिमियर लिगका पहिलो विपक्षी खेलाडी बनेका छन्। यस भन्दा अगाडी कुनै पनि प्रिमियर लिग क्लबका खेलाडीले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेड विरुद्ध ह्याट्रिक गर्न सकेका थिएनन्। (*अन्यथा हुन गएकोमा केहि जानकारी सच्याइएको छ)
सलाह शिर्ष गोलकर्ता
आइतबार ३ गोल गरेसँगै सलाह प्रिमियर लिगको जारी सिजजंमा सर्वाधिक गोल कर्ता बनेका छन्। उनको नाममा १० गोल छ। त्यस्तै असिस्टको नाममा पनि सलाह दोस्रो स्थानमा छन्। उनले अहिले सम्म ५ असिस्ट दिसकेका छन्। यस हिसाबले प्रिमियर लिगको नयाँ सिजनमा १५ गोलमा सलाहको स्पष्ट भूमिका रह्यो।

