म्यानचेस्टर युनाइटेडका दुई टिममेट क्रिस्टियानो रोनाल्डो र मेसन ग्रिनउडले खेलको क्रममा एकअर्का बीच तालमेल नमिल्दा एकअर्कालाई ‘पास नगर्ने’ गरेको बताइएको छ।

युनाइटेडले आइतबार साँझ लिभरपुलसँग ५-० को लज्जास्पद हार बेहोर्यो। जसपछि, प्रशिक्षक ओले गुन्नर सोल्स्कजायरको पदको बारेमा प्रश्न उठ्न सुरु भएको छ। यसै सिजन मात्र युभेन्टसबाट युनाइटेड फर्किएका रोनाल्डो र २० वर्षीय ग्रिनउड बीच एक-अर्कासँग तालमेल नमिल्दा आक्रमणमा अझै पूर्ण रूपमा क्लिक गरेका छैनन्।

इएसपीएनको एक रिपोर्टका अनुसार प्रशिक्षक ओलेले रोनाल्डो र ग्रिनउड बीच तालमेल मिलाउन निकै संघर्ष गरिरहेका छन्, जसमा उनी सफल भएको देखिँदैन। अन्य टिममेटहरुले पनि अब याद गर्न थालेका छन् कि यी दुई स्टारले विरलै एक-अर्कालाई पास दिने गर्छन्। ५ पटकका बालोन डी’ ओर विजेता इंग्लिस युवा स्टारसँग निराश रहेको पनि बुझिएको छ।

युवा स्टार निकै राम्रा फिनिसर मानिन्छन् जसको कारण उनी प्राय: गोलका लागि जाने गर्छन्। तर रोनाल्डो भने आफूलाई उपयुक्त स्थानमा पनि बल पास नगरेको भन्दै ग्रिनउडसँग निराश रहेका छन्।

