एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ । गत आइतबार ‘एल क्लासिको’ मा बार्सिलोनालाई हराएको रियल म्याड्रिड घरेलु मैदानमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ ।
स्टेडियो सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा ओसासुनालाई बल पोसेसनमा दवावमा राखेपनि फिनिसिङमा चुक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो । २२औं मिनेटमा मार्काे एसेन्सियोको पासमा इडुआर्ड कामाभिंगाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २४औं मिनेटमा फर्लान्ड मेन्डीको पासमा भिनिसियस जुनियरको प्रहार चुक्दा रियल अग्रता लिनबाट चुक्यो ।
३०औं मिनेटमा इडर मिलिसाओको प्रहारलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाए । लगत्तै ३१औं मिनेटमा भिनिसियसको प्रहारमा गोलरक्षक हेरेरा नै बाधक बन्यो । ५०औं मिनेटमा एभिलाको क्रस पासमा मोन्कायोलाको प्रहार पोस्टमा लागेर बाहिरिदा पाहुना टोली ओसासुना अग्रता लिनबाट चुक्यो ।
६२औं मिनेटमा भिनिसियस जुनियरको पासमा करिम बेन्जेमाको प्रहार बारमा लागेर फर्कदा रियलले खेलमा अग्रता लिन सकेन । त्यसपछि पनि रियलले आधादर्जन अवसर सिर्जना गरेपनि ओसासुनाका डिफेन्डर र गोलरक्षक बाधक बन्दा रियल जितबाट वञ्चित बन्यो ।
बराबरीपछि रियल १० खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान २१ अंक नै रहेपनि सेभिया, रियल बेटिस र रियल सोसिडाड शीर्ष चारमा रहेका छन् । ओसासुना १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्काे खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले स्तब्ध बनेको छ । बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफमा राडामेल फल्काओको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा गोल गरेका थिए । बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोनाले रियल म्याड्रिडसँग २–१ को हार बेहोरेको थियो ।
हारपछि बार्सिलोना १० खेलबाट १५ अंक जोडेर नवौं स्थानमा यथावत रहँदा रायो भालेकानो११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

