काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ । एमालेबाट फुटेर नयाँ पार्टी बनेको दुई महिना नपुग्दै नेपाल नेतृत्वको पार्टीले सबैभन्दा ठूलो लाभ बागमतीबाट लिएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
संघीय सरकारमा चार मन्त्री र एक मन्त्रीसहित सहभागी भइसकेको नेपाल नेतृत्वको पार्टी बागमतीबाट मुख्यमन्त्री यात्रा थालेको हो । बागमतीबाट मुख्यमन्त्रीको ढोका खोलेको समाजवादीले प्रदेश १ मा पनि नेतृत्व लिने सम्भावना छ । गठबन्धन दलबीच सहमति भएमा आगामी कात्तिक १५ गते प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् ।
नेकपा विभाजनपछि राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हार चखाएर अघि बढेका नेपालले समाजवादी गठनपछि प्रदेश सरकारको पहिलो नेतृत्व बागमतीबाट लिएका हुन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नसक्ने भएपछि बुधबार मात्रै बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यको राजीनामासँगै १ सय ५ सदस्यीय प्रदेश सभाको बहुमत अर्थात् ५९ जनाको समर्थन पाएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उक्त पद बिहीबारदेखि सम्हालेका छन् ।
अंक गणित अनुसार एकीकृत समाजवादी बागमती प्रदेश सभाको चौथो ठूलो दल हो । सरकार गुमाएपछि प्रदेश सभामा एमाले अझै ठूलो दलका रुपमा उपस्थित छ । एमालेका ४३ सदस्य छन् । दोस्रो ठूलो दल माओवादी केन्द्रका २३ सदस्य छन् भने नेपाली कांग्रेसका २२ सदस्यसहित तेस्रो स्थानमा छ ।
बागमती प्रदेश सभामा एकीकृत समाजवादीका १३ जना मात्रै सांसद छन् । तर, प्रदेश सरकारबाट एमालेलाई हटाएपछि दुई–दुई प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको आन्तरिक सहमति अनुसार बागमतीको नेतृत्व पाएको हो ।
माओवादी केन्द्रबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी तीन प्रदेशमा मुख्यमन्त्री छन् । तर, आन्तरिक सहमति कार्यान्वयन भए कर्णाली सरकारको नेतृत्व यही कात्तिक १५ गते माओवादीले कांग्रेसलाई हस्तान्तरण गर्नेछ ।
गण्डकी र कर्णाली गरी दुईवटामा कांग्रेसले सरकारको नेतृत्वमा हुनेछ । एकीकृत समाजवादीको भागमा भने बागमतीका अलावा प्रदेश १ परेको छ । तर, त्यहाँ पनि सत्तारुढ गठबन्धनकै बहुमत भएकाले आन्तरिक सहमति कार्यान्वयन भए समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री हुनेछन् ।

