एजेन्सी – लिभरपुलका दिग्गज पूर्वखेलाडी ग्रिम सौनेसले क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह बीच तुलना हुन नसक्ने बताएका छन्। एक टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डो र सलाह बीच तुलना नै गर्न नमिल्ने बताएका हुन्।
गएको केहि महिना देखि सलाह उच्च लयमा छन् भन्दामा उनलाई रोनाल्डोसँग तुलना गर्न नमिल्ने सौनेसले बताए। सलाह रोनाल्डोको छेउ-छाउ पनि नपुग्ने उनको भनाई छ।
“यी दुई बीच तुलना नै गर्न मिल्दैन। तीन महिनाको प्रदर्शन हेरेर त झनै मिल्दैन। गएको तीन महिनामा सलाह विश्वकै उत्कृष्ट खेलाडी बने-बनेनन् भन्नेमा तर्क-वितर्क त गर्न सकिएला। तर रोनाल्डोसँग तुलना गर्न भने मिल्दैन।”,सौनेसले भने।
रोनाल्डो जुन सुकै पुस्ताका खेलाडीहरु सामू उत्कृष्ट खेलाडीको रुपमा उभिन सक्ने खेलाडी रहेको पनि उनले बताए। उनका अनुसार सबै पुस्ताका खेलाडीहरुले भरिएको कोठामा म सबै भन्दा उत्कृष्ट हुँ भन्ने अवस्थामा छन्। त्यसैले पनि रोनाल्डो र सलाह बीच तुलना हुन नसकने उनको भनाई छ।
सौनेसले भने,”रोनाल्डोले सबै पुस्ताका खेलाडीले भरिएको कोठामा उभिएर सबै भन्दा उत्कृष्ट म हुँ, म इतिहाँसकै सर्वोत्कृष्ट खेलाडी हुँ भनेर भन्न सक्ने अवस्थामा छन्।”
सलाह लिभरपुलका लागि वर्ष पछि वर्ष राम्रो प्रदर्शन गरिरहेको र अहिले उनी धेरै राम्रो लयमा रहेको सौनेसले स्विकारे। त्यसो भन्दैमा उनको रोनाल्डोसँग तुलना हुन नसक्ने सौनेसको बुझाई छ। उनले भने,”सलाहले लिभरपुलमा राम्रो समय बिताइरहेका छन्। केहि वर्ष देखि उनी धेरै राम्रो प्रदर्शन गरिरहेरका छन्। हो, अहिले उनी उच्च लयमा छन्। तर रोनाल्डो अहिले पनि छुट्टै स्तरमा छन्।”

