एजेन्सी – बुद्धि, व्यवसाय, व्यवस्थापन, र संचार आदिको कारक ग्रह बुधले यहि कार्तिक १६ गते मंगलबार राशि परिवर्तन गर्दैछ। एक महिना अगाडी राशि परिवर्तन गरेको बुधले मंगलबार कार्तिक कृष्णपक्ष द्वादशीका दिन राशि परिवर्तन गर्न लागेको हो।
ज्योतिषीहरुका अनुसार बुध ग्रह मंगलबार बिहान १० बजेर २० मिनेटमा कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ। बुध तुला राशिमा प्रवेश गर्दा त्यसको असर सम्पूर्ण राशिलाई पर्नेछ। मंगलबार धनतेरस पनि परेको छ। काग तिहारको अघिल्लो दिन नै परेको धनतेरसका दिन बुधले राशि परिवर्तन गर्न लागेका कारण यसलाई धेरै शुभ संयोग मान्न सकिन्छ। बुधको राशि परिवर्तन कुन राशिलाई कति शुभ ?
मेष राशि
बुध तुला राशिमा हुँदा मेष राशि हुनेहरुको भाग्यमा विभिन्न सकारात्मक परिवर्तन हुनेछन्। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। टाढा रहेका आफन्तजनलाई लिएर शुभ समाचार प्राप्त होला। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। पारिवारिक कलह पनि समाधान हुनेछन्। विशेष उपहार प्राप्त हुन सक्ला। आर्थिक रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ। पुरुषार्थबाट शत्रुहरुलाई सहजै पराजित गर्न सकिनेछ। विद्यार्थीहरुका लागि पनि बुधको राशि परिवर्तन विशेष रहनेछ।
वृष राशि
बुधको राशि परिवर्तन वृष राशि हुनेहरुका लागि मध्यम फलदायी रहनेछ। व्यावसायिक उद्देश्य प्राप्तिका लागि अलि बढी मिहिनेत पर्नेछ। मिहिनेत गरेअनुसारको फल मिल्दा मन आनन्दित रहनेछ। रोजगारको क्षेत्रमा पनि राम्रै रहला। केहि काम भने दोहोर्याउनुपर्ने अवस्था आउन सक्छ। रचनात्मक र आविष्कारत्मक क्षमता वृद्धि हुँदा मान-सम्मानको पात्र भइनेछ। सामाजिक कार्यमा रुची बढ्नेछ। तर स्वास्थ्यले भने साथ नदिन सक्ला।
मिथुन राशि
बुधले राशि परिवर्तन गर्दा मिथुन राशि हुनेहरुको समग्र व्यक्तित्वमा प्रभाव पार्नेछ। व्यावसायिक रूपमा बुधले रचनात्मक क्षमता वृद्धि गराउनेछ। व्यवसायमा केहि प्रतिष्पर्धा बढेपनि सफलताले भने साथ छाड्ने छैन। शैक्षिक क्षेत्रमा बुधको सकारात्मक प्रभाव रहनेछ। जसकारण विभिन्न प्रकारका प्रतिष्पर्धाहरुमा विजयी भइनेछ। घुमफिर तथा मनोरञ्जनमा खर्च बढ्न सक्ला। क्रोध तथा व्यवहारमा नियन्त्रण आवश्यक रहनेछ।
कर्कट राशि
बुधको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि धेरै नै विशेष रहला। बुधले राशि परिवर्तन गरेसँगै आर्थिक समस्याहरु हटेर जानेछन्। स्वास्थ्यमा पनि सुधार होला। नयाँ कार्य थालनीका लागि पनि बुधको राशि परिवर्तन सहयोगी हुनेछ। पराक्रम बढेर जाँदा कठिन भन्दा कठिन कठि कार्य सफल हुनेछन्। कानुनी रुपमा पनि बुधको राशि परिवर्तनले लाभ पुर्याउने देखिन्छ। रोजगारको क्षेत्रमा पनि बुधले सकारात्मक नै प्रभाव पार्नेछ। यात्राको अवसर जुर्न सक्ला।
सिंह राशि
बुधको राशि परिवर्तन सिंह राशि हुनेहरुका लागि खासै शुभ रहने देखिँदैन। अनावश्यक झमेला निस्किँदा कार्य सम्पादनमा असर पर्नेछ। कार्यस्थलमा नचाहेका बाधा अड्चनको सामना गर्नुपर्नेछ। आफ्नै भनिएकाहरुले दुख दिन सक्ने हुँदा सतर्कता अपनाउनु होलो। प्रेम जीवनमा भने बुधको सकारात्मक प्रभाव रहनेछ। प्रिय व्यक्तिबाट उपहार प्राप्त हुन सक्ला।
कन्या राशि
बुधले राशि परिवर्तन गरेसँगै कन्या राशि हुनेहरुको जीवनमा एक पछि अर्को सकारात्मक परिवर्तनहरु हुन थाल्नेछन्। व्यापार व्यावसायको क्षेत्रमा सफलता नै सफलता हात लाग्नेछ। प्रेम जीवनमा पनि बुधको राशि परिवर्तनले सकारात्मक प्रभाव पार्न सक्ला। नयाँ सम्बन्धहरु कायम हुनेछन्। साथै साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिन शुरु गर्नेछन्। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने अवसर मिल्नेछ। आफन्तसँग भेटघाट हुनाले माहोल उल्लासमय रहनेछ।
तुला राशि
बुधको राशि परिवर्तन तुला राशि हुनेहरुका लागि मध्यम फलदायी मान्न सकिन्छ। बुधको राशि परिवर्तनसँगै नयाँ योजना हात लाग्नेछन्। व्यवसाय विस्तारको योजना सफल हुनेछ भने सम्पूर्ण कार्यमा परिवारको पनि सहयोग रहनेछ। तर बोलिमा नियन्त्रण नहुँदा पनि बन्न लागेका कार्य पनि बिग्रिन सक्नेछन्। त्यसैले बोलिमा नियन्त्रण आवश्यक पर्नेछ। सामाजिक दायित्व बढ्न सक्ला। यात्राको अवसर पनि जुर्न सकने देखिन्छ।
वृश्चिक राशि
बुधको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुमा उग्रता उत्पन्न गर्न सक्छ। सानो-सानो कुरामा रिसाउने बानिले समस्या निम्त्याउनेछ। सकेसम्म कम बोल्नु होला। यात्राको अवसर जुरेपनि यात्रा लाभप्रद भने रहनेछैन। त्यसैले यात्राका योजना तत्कालका लागि रद्द गर्दा नै राम्रो होला। स्वास्थ्यमा भने केहि सुधार देखा पर्नेछन्। आर्थिक समस्याले सताउँदा पारिवारिक माहोल पनि बिग्रिन सक्नेछ।
धनु राशि
बुध तुला राशिमा प्रवेश गरेसँगै धनु राशि हुनेहरुको जीवनमा नकारात्मक भन्दा बढी सकारात्मक परिवर्तन हुनेछन्। लगनशीलताले नयाँ स्थानका साथै काम गर्ने अवसरसमेत दिलाउनेछ। जीवनसाथी र व्यापारिक साझेदारहरूको पूर्ण सहयोग मिल्दा महत्वपूर्ण कार्य सफल हुनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। धेरै समय देखि भेट नभएका मित्रजनसंग भेट हुन सक्ला।
मकर राशि
बुधको राशि परिवर्तनसँगै आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यापारमा मनग्य फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। तारिफयोग्य कामले चर्चित बनाउन सक्ला। मिहिनेतले विशेष स्थान दिलाउँदा झनै जाँगर बढेर जानेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्दा महत्वपूर्ण कार्य सम्पादन हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ला।
कुम्भ राशि
बुधको राशि परिवर्तन कुम्भ राशि हुनेहरुका लागि शुभ र अशुभ दुवै रहनेछ। बुधको राशि परिवर्तनले स्वास्थ्यमा सुधार ल्याउनेछ। कलाकार तथा खेलाडीहरु सफल हुनेछन् भने विद्यार्थीहरुका लागि पनि बुधको राशि परिवर्तन राम्रो मान्न सकिन्छ। तर व्यवसायको क्षेत्रमा भने बुधले केहि समस्या पैदा गर्न सक्छ। उदारो नउठ्दा आर्थिक समस्याले सताउनेछ। त्यस्तै रोजगारको क्षेत्रमा पनि बुधका कारण समस्या पैदा नहोला भन्न सकिने अवस्था देखिँदैन।
मीन राशि
बुधको राशि परिवर्तनले व्यवसायमा सकारात्मक प्रभाव पार्ने भएपानि कार्यस्थलमा सावधान रहनुपर्ने देखिन्छ। व्यवसायिक साझेदार र सहकर्मीहरूसँगको सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ। गोपनियता भंग हुन सक्ने भएका कारण पनि सतर्क रहनु होला। स्वास्थ्यमा भने सुधार नै हुनेछ। यात्राले लाभ नै दिलाउनेछ। चिताएका कार्य परिवारको सहयोगमा सम्पन्न हुनेछन्।