“प्रधानमन्त्री कसैको ज्यान लिने खालको हुनुहुन्छ र?”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य भीम रावलले बालुवाटारबाट ज्यान लिने धम्की आएको बताएको विषयमा कुनै सत्यता नभएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले दावी गरेका छन्।

बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा बाँस्कोटाले रावललाई बालुवाटारबाट ज्यान लिने धम्की दिइएको कुरामा कुनै सत्यता नभएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली कसैको ज्यान लिने पक्षमा कहिले नहुने दावी गर्दै धम्की आएको भन्ने विषयलाई पत्याउन नसकिने बाँस्कोटाले तर्क गरे।

“यो धम्की आएको भन्ने तपाईंलाई पत्यार लाग्छ? प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र? कसैको ज्यान लिने?”,प्रश्न गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने।

धम्की बारे केहि सत्यता नभएको दावी गर्दै रावलले पनि कसले फोन गरेको हो भनी खुलाउनुपर्ने बाँस्कोटाले बताए।

“ज्यान लिने धम्कीको सत्यता छैन। उहाँले पनि भन्नुपर्छ यसले फोन गर्‍यो। यस्तो नम्बरबाट फोन आयो। त्यस्तो हो नै रहेछ भने कारबाही हुन्छ।”,उनले भने।

कुनै कुरामा सहमति वा असहमति जनाएकै आधारमा धम्की दिन नमिल्ने पनि बाँस्कोटाले स्पष्ट पारे। “पछुवा उपलब्ध गराएको छ। साथमा अरू सुरक्षाकर्मी छन्। उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन।”,उनले भने,”प्रधानमन्त्रीले आफ्नै कार्यकर्तामाथि तरबार बोकेर हिँड्नुहुन्छ। खल्तीभरि गोलीको माला भिरेर हिँड्नुहुन्छ भन्ने सोच्नु राम्रो होइन। यो सत्य होइन।”

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१०:२४

अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा पानी पर्न थाल्यो !