एजेन्सी – दुई पटक रियल म्याड्रिडका प्रशिक्षकको रुपमा काम गरिसकेका जिनेदिन जिदान अहिले खालि छन्। रियल म्याड्रिड छाडेयता उनी कुनै पनि क्लब तथा टोलीमा आवद्ध भएका छैनन्।
रियल म्याड्रिडका पूर्वखेलाडी समेत रहेका जिदान प्रशिक्षकको रुपमा धेरै सफल सावित भए। रियल म्याड्रिडको प्रशिक्षकको रुपमा जिदानले लालिगा उपाधि देखि च्याम्पियन्स लिग उपाधि सम्म जिते। जिदानले रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका थिए।
जिदान धेरै क्लबको प्राथमिकतामा छन्। जिदानको नाम सबै भन्दा बढी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग जोड्न थालिएको छ। जिदान यदि कुनै क्लबको प्रशिक्षक हुन्छन् भने यी दुई क्लबको मात्रै हुने विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
युनाइटेड जाने सम्भावना कति ?
जारी सिजनमा म्यानचेस्टर युनाइटेड लगातार कम्जोर प्रदर्शन गरिरहेको छ। क्रिस्टियानो रोनाल्डो जस्तो खेलाडीको उपस्थितिले पनि युनाइटेडलाई अगाडी बढाउन सकिरहेको छ। जसकारण प्रशिक्षक ओले गुन्नार सोल्साएर अहिले बर्खास्तीको संघारमा छन्।
जिदानलाई ओलेको ठाउँमा ल्याउन विभिन्न प्रयासहरु भैरहेको बताइन्छ। रोनाल्डो र राफेल भाराने दुवैसंग काम गरिसकेका कारण पनि उनी युनाइटेड आउने सम्भावना रहेको बताइन्छ। रोनाल्डो आफैंले पनि व्यक्तिगत तवरबाट जिदानलाई युनाइटेड आउन आग्रह गरेको खेल मिडियाहरु बताउँछन्। तर जिदान आफैं भने प्रिमियर लिग जान त्यति इच्छुक देखिँदैनन्। जिदान युनाइटेड जान नचाहनु पछाडी भाषा प्रमुख कारण रहेको बताइन्छ।
तर बेलायत जान नखोज्नु त्यो मात्र एक कारण भने होइन। बताएअनुसार जिदानकी श्रीमती भेरोनिक्वो जिदान बेलायत नजाउन् भन्ने चाहन्छिन्। जिदान अहिले नै कुनै क्लबमा आवद्ध नभई खालि नै बसुन् भन्ने उनको चाहना छ।