एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आफ्नो देश फर्किनु अगाडी शारीरिक रुपमा फिट थिएनन्। मेस्सीलाई पेरिस सेन्ट जर्मेन(पिएसजी)के केहि समय देखि मैदान बाहिर नै राखिरहेको थियो। खुट्टामा समस्या देखिएपछि उनले खेल गुमाइरहेका थिए। तर मेस्सी पिएसजीको मैदानमा फिर्ता नहुँदै अर्जेन्टिना फर्किए।
विश्वकप छनौट अन्तर्गत उनले दुई खेल खेले। उरुग्वे विरुद्ध केहि मिनेट मात्रै खेलेपनि मेस्सीले ब्राजिल विरुद्ध भने पूरा समय मैदानमा बिताए। खेलमा खासै प्रभाव जमाउन नसकेपनि उनी खेलको अन्तिम समय सम्म मैदानमा टिकिरहे।
मेस्सीले खेलपछि आफू पूरा फिट नभएको स्पष्टसँग बताए। उनले भने कि उनी लय समाउन प्रयास गरिरहेका छन् र सन् २०२१ अन्त्य तर्फ अगाडी बढ्दै गर्दा सबै राम्रो हुँदै जानेछ।
“मैले लामो समयदेखि खेलेको थिइन। यो एकदमै कठिन खेल थियो। म ठीक छु, शारीरिक रूपमा भने पूरै राम्रो भएको छैन। म आफ्नो लय खोजिरहेको छु।”,मेस्सीले भने,”म लामो समय देखि मैदान बाहिर थिएँ। त्यसैले एकै खेलमा कठिन टोली विरुद्ध खेल्न सहज भएन।”
फिर्ता होला मेस्सीको लय
बार्सिलोनाबाट पिएसजी पुगेपछि मेस्सीले अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकेका छैनन्। पिएसजी पुगेपछि लय समाउन संघर्षरत उनलाई पिएसजीमा घुलमिल हुन पनि समस्या भैरहेको छ। बार्सिलोनामा गोल पछि गोल गर्ने उनी पिएसजीमा खुलेर गोल गर्न सकिरहेका छैनन्। मेस्सीले फ्रेन्च लिग वानमा त खाता समेत खोलेका छैनन्। मेस्सी आफैं पनि आफू लयमा नरहेको मान्छन्।
तनावमा पोचेटिनो
सिजन शुरु हुनु भन्दा अगाडी पिएसजीको नयाँ स्क्वाडलाई लिएर जुन उत्साह थियो, अहिले त्यो उत्साह छैन। पिएसजीका मेस्सी र नेयमार जस्ता स्ट्राइकर लगातार चोटिल हुनु प्रशिक्षक पोचेटिनोका लागि टाउको दुखाईको विषय बनिरहेको छ।
मेस्सीले अर्जेन्टिनाबाट खेलिसकेका कारण पोचेटिनो झनै ठूलो समस्यामा छन्। मेस्सी आफैं पनि आफू पूर्ण रुपमा फिट नभएको मान्छन्। पूर्व रुपमा फिट नभएका मेस्सीलाई खेलाउने कि विश्राम दिने भन्ने कुराले उनलाई अन्योलमा परेको छ।