एजेन्सी – फ्रेन्च स्टार पल पोग्बाले म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना बढेर गएको छ। युनाइटेडले सम्झौता नवीकरणमा चासो नदेखाएसँगै पोग्बाले युनाइटेड छाड्ने सम्भावना बढेको हो।
सन् २०१६ मा युनाइटेड आएका पोग्बाको सन् २०२२ मा सझौता सकिँदैछ। पोग्बा आउने केहि महिनामै अन्य क्लबसँग अग्रिम सम्झौताका लागि उपलब्ध हुनेछन्। २०२२ को जुनमा उनको सम्झौता सकिन लागेपनि म्यानचेस्टरले सम्झौता थप गर्न चासो देखाएको छैन।
पछिल्ला महिनाहरुमा युनाइटेडले सम्झौता थपका लागि छलफल चलाएको भएपनि पोग्बा पक्षसँग सहमति हुन सकेको थिएन। जससँगै युनाइटेड सम्झौता थप गर्ने योजनाबाट ‘ब्याक’ भएको छ। स्पेनिस मिडिया मार्काले गरेको दावी अनुसार हालको अवस्थालाई हेर्दा पोग्बा र युनाइटेड बीच सम्झौता थपका लागि सहमति हुने सम्भावना देखिँदैन।
सन् २०१६ मा युभेन्टसबाट आउँदा पोग्बा माथि युनाइटेडले जे अपेक्षा गरेको थियो, त्यो पाउन सकिरहेको छैन। पोग्बा युभेन्टसबाट १ सय ५ मिलियन युरोमा युनाइटेड आएका थिए। पोग्बा अहिले युनाइटेड प्रतिसिजन १२ मिलियन युरो कमाउँदै आएका छन्।
सिजनको सुरुवातमा पोग्बाले केहि आशा जगाएको भएपनि पछिल्लो समयमा उनको प्रदर्शन त्यति राम्रो हुन सकेको छैन। चोटिल भएपछि उनी अहिले आराम गरिरहेका छन्।
पोग्बाको सम्झौता थप नहुने देखिएपछि उनी माथि विभिन्न क्लबहरुले नजर लगाइरहेका छन्। बताइएअनुसार, उनी माथि युभेन्टस, पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिडले नजर लगाइरहेका छन्। त्यति मात्र होइन पोग्बा माथि बार्सिलोनाको पनि नजर छ। फ्री ट्रान्सफरमा उपलब्ध भएको खण्डमा पोग्बालाई भित्र्याउने बार्सिलोनाको योजना छ।