एजेन्सी – पूर्व ब्राजिली भेट्रान डिफेन्डर डेनी आल्भेस धेरै कम तलबमा बार्सिलोना फिर्ता भएको खुलासा भएको छ। बार्सिलोनाको आर्थिक अवस्था अत्यन्त कम्जोर भएका कारण उनी निकै कम तलबमा बार्सिलोना फिर्ता भएका हुन्।
आल्भेस लालिगाले निर्धारण गरेको सबैभन्दा कम तलबमा बार्सिलोना आएको विभिन्न स्पेनिस मिडियाहरुको दावी छ। मिडियाहरुले गरेको दावी अनुसार आल्भेस लालिगाकै सबै भण्ड अकं पारिश्रमिक पाउने खेलाडी बनेका छन्। अल्भेसले बार्सिलोनामा प्रतिवर्ष १ लाख ५५ हजारमात्रै पारिश्रमिक पाउने बताइन्छ।
बार्सिलोना ठूलो आर्थिक संकटमा रहेका बेला नवनियुक्त प्रशिक्षक जाभी हर्नान्डेजका कारण आल्भेसको बार्सिलोना फिर्ती सम्भव भएको हो। आल्भेस फिर्ता हुँदा पनि बार्सिलोनाको केहि खर्च भएको थिएन। आल्भेस फ्री एजेन्टको रुपमा बार्सिलोना आइपुगेका हुन्।
‘सित्तैमा भएपनि म फिर्ता हुन तयार
आल्भेसको भनाईलाई मान्ने हो भने उनी निशुल्क समेत बार्सिलोना फर्किन तयार थिए। क्याम्प नोउमा आयोजित कार्यक्रममा बोल्दै उनले बार्सिलोना फिर्ता हुन हरेक काम गर्न आफू तयार भएको बताएका थिए।
“मलाई जसरी हुन्छ बार्सिलोना फिर्ता हुनु थियो। म जसरी पनि यहाँ फिर्ता हुन चाहन्थें। नि:शुल्क भएपनि फिर्ता हुने मेरो चाहना थियो।”,आल्भेसले बार्सिलोना फिर्ता हुन पाएकोमा खुशी हुँदै भनेका थिए।
उनका अनुसार बार्सिलोना फिर्ता हुन उनी यति ब्यग्र थिए कि उनी सित्तैमा बार्सिलोना आउँन समेत तयार थिए। उनले भने,”म अध्यक्षसँग कुराकानी गरेपछि झनै उत्साहित भएको थिएँ। मलाई केहि नतिरेपनि म बार्सिलोनालाई सहयोग पुर्याउन आउन चाहन्थें।”