एजेन्सी – म्यानचेस्टर युनाइटेडको पारिश्रमिक खर्च गएको त्रैमासिकमा ह्वात्तै बढेको छ। क्रिस्टियानो रोनाल्डो सहित विभिन्न खेलाडीहरुको आगमनसँगै युनाइटेडको पारिश्रमिक खर्च पछिल्लो त्रैमासिकमा ह्वात्तै बढेको हो।
विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले गरेको दावी अनुसार युनाइटेडको पारिश्रमिक खर्च पछिल्लो त्रैमासिकमा २३ प्रतिशत भन्दा बढीले बढेको छ। क्रिस्टियानो रोनाल्डो, राफेल भराने र जोडन सान्चोको आगमनले पारिश्रमिक खर्च १ सय मिलियन युरो नाघेको बताइन्छ। युनाइटेडको पारिश्रमिक खर्च १ सय ५० मिलियन युरो पुगेको अन्तर्राष्ट्रिय मिडियाहरु दावी गर्छन्।
त्यस्तै पारिश्रमिक खर्च मात्र नभई युनाइटेडको आम्दानि पनि बढेको छ। पछिल्लो त्रैमासिकमा युनाइटेडको आम्दानी १६ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। युनाइटेडको आम्दानी १ सय ५० मिलियन युरोले बढेको छ। कोरोना भाइरस महामारीका कारण बन्द गरिएको स्टेडियम खुलेका कारण पनि युनाइटेडको आम्दानी बढेको हो।
त्यस्तै रोनाल्डोको आगमनले युनाइटेडको व्यावसायिक पक्षलाई लगभग ८ प्रतिशतले वृद्धि गराएको छ। विभिन्न मिडिया रिपोर्टका अनुसार रोनाल्डोका कारण युनाइटेडको व्यावसायिक पक्ष लगभग ७७ मिलियन युरोले वृद्धि भएको छ।
कति छ ऋण ?
गएको सिजन यस बेला युनाइटेडको कुल ऋण ५ सय २५ मिलियन युरो थियो। तर अहिलेको अवस्थामा ऋण थोरै कम भएको छ। अहिले युनाइटेडको ऋण ५ सय २३ मिलियन युरो रहेको बताइन्छ।