काठमाडौं । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक दलका नेतालाई एमसीसी छिटो पारित गर्न अल्टिमेटम दिएर गएका छन् । नेपालको धारणा स्पष्ट बनाउन सहायक विदेशमन्त्री लुले दलका नेताहरूलाई भेटेर भनेका छन् । यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसीको विषय कहिले कार्यान्वयन हुन्छ ? भनेर राजनीतिक दलसँग प्रश्न गरेकी थिइन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
एमसीसी उपाध्यक्ष सुमारपछि अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाल भ्रमण गरेका हुन् । सहायक विदेशमन्त्री डोनाल्ड लुले सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिनेगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता स्वीकार गर्ने वा नगर्ने अधिकार नेपालसँग रहेको प्रस्ट्याएर गएका छन् । एमसीसी बोर्डको समीक्षा बैठक हरेक तीन÷तीन महिनामा हुने र परियोजनाको विषयमा अब के गर्ने ? भन्ने’bout छलफल हुने गरेको सहायक विदेशमन्त्री लुले बताएका छन् ।
उनले सम्झौता कार्यान्वयनमा लाने÷नलाने निर्णय भने छिटो गरिदिन नेपाली पक्षसँग आग्रह गरेका छन् । सम्झौता कार्यान्वयन नगर्ने भए नेपाललाई दिएको सहयोग अन्यत्र ठाउँमा दिनेसमेत भनेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने नेपालकै हातमा रहेको लुको भनाइ ।
नेपालको तीनदिने भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनले राजनीतिक दलका सबै नेतालाई एमसीसीको विषयमा विशेष चासो राखेका थिए ।

