एजेन्सी – माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडमा सामेल हुन सक्ने सम्भावना बढ्दै गएको छ। युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर बर्खास्त भएसँगै पोचेटिनो युनाइटेड जाने सम्भावना बढेको हो।
हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहेका पोचेटिनो फ्रान्समा असन्तुष्ट रहेको बताइन्छ। लियोनेल मेस्सी, नेयमार र एम्बाप्पे जस्ता ठूला खेलाडीहरुको व्यवस्थापन गर्न नसकेको भनेर आलोचित हुँदै आएका उनी फ्रान्स छाडेर बेलायत जान सक्ने सम्भावना देखिएको विभिन्न खेल मिडियाहरु दावी गर्छन्।
बेलायतबाट प्रकाशित हुने डेली मिररको रिपोर्ट अनुसार युनाइटेडको सम्भावित प्रशिक्षकमा पोचेटिनोको नाम सबै भन्दा अगाडी देखिएको छ। पोचेटिनो पिएसजी छाडेर युनाइटेड आउन सक्ने उसको दावी छ। बताइएअनुसार पोचेटिनोको परिवार लण्डनमै छ। पोचेटिनो भने फ्रान्सको एक होटलमा रहिआएका छन्। फ्रान्समा लामो समय बस्ने सोच्न नभएका कारण उनले आफ्नो परिवारलाई लण्डनमै राखेको बताइन्छ।
बीबीसीले रिपोर्ट गरेको छ कि जिनेदिन जिदान म्यानचेस्टर युनाइटेडमा जान चाहँदैनन्। रियल म्याड्रिडका पूर्व प्रशिक्षकको नजिकका स्रोतहरूको हवाला दिँदै बीबीसीले यस्तो दावी गरेको हो।
पिएसजीमा निराश छन् पोचेटिनो
केहि समय अगाडी मात्रै एक अन्तर्वार्ताका क्रममा पोचेटिनोले ठूला स्टारहरुको व्यवस्थापन गर्न सहज नहुने बताएका थिए। त्यसक्रममा उनले ठूला स्टारसँगै उनका परिवार, मिडिया र समर्थकहरु सबैलाई एक साथ व्यवस्थापन गरिनुपर्ने हुँदा क्लबका कर्मचारीहरु समस्यामा हुने उल्लेख गरेका थिए।

