एजेन्सी – रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियसले इडेन हाजार्डको समय नसकिएको बताएका छन्। च्याम्पियन्स लिगमा शेरिफको सामना गर्नु अगाडी कोर्टियसले हाजार्डको समय सकिनसकेको बताएका हुन्।
पत्रकारहरुले सोधेको विभिन्न प्रश्नहरुको जवाफ दिनेक्रममा हाजार्डलाई उमेरका कारण कम्जोर आँक्न नहुने बताए। उनका अनुसार हाजार्ड अहिले पनि मैदानमा धेरै राम्रो प्रदर्शन गर्न सक्छन्। हाजार्ड कुनै पनि कति राम्रो खेलाडी थिए भन्ने कुरा सजिलै भुल्न नहुने पनि कोर्टियस बताउँछन्।
“मलाई लाग्दैन कि उनी दुखि छन्। उनी कति राम्रो खेलाडी हुन् भनेर यति छिट्टै भुल्न सकिन्छ र ? उनीमा भएको गुणलाई त्यति सहजै बिर्सिन सकिन्न।”,हाजार्डको समय सकिएको हो भन्दा गरिएको प्रश्नको जवाफ दिँदै कोर्टियसले भने।
हाजार्ड अझै पनि आफूहरुका लागि महत्वपूर्ण खेलाडी हुने कोर्टियसले बताए। लगातारको मिहिनेत, प्रशिक्षण र खेलहरू पश्चात हाजार्ड आफ्नो स्तरमा फिर्ता हुने कोर्टियसको विश्वास छ।
उनले भने,”हामी कसैले पनि उनलाई समय सकिएको बुढो खेलाडीको रुपमा लिनु हुँदैन। मलाई थाहा छ कि लगातारको मिहिनेत, प्रशिक्षण र खेलपछि उनी आफ्नो स्तरमा फिर्ता हुनेछन्।”
हाजार्ड सन् २०१९ मा चेल्सीबाट रियल म्याड्रिड पुगेका हुन्। चेल्सीमा हुँदै धेरै नै राम्रो प्रदर्शन गरिरहेका उनी रियल पुगेपछि भने सेलाएका छन्। हाजार्डलाई शरीरले पनि साथ दिरहेको छैन। उनी लगातार घाइते हुँदै आएका छन्।

