एजेन्सी – विद्यालयमा आयोजित ज्याभ्लिन थ्रो प्रतियोगिताको क्रममा भएको एक दुर्घटनाले भारतका एक बालकलाई अस्पताल पुर्यायो। अस्पतालमा शल्यक्रिया त गरियो, तर उनको बाँया भाग आंशिक प्यारालाइसिसको शिकार भयो।
घटना भारत हावडा जिल्ला शयामपुर स्थित नवदा नयनचन्द्र विद्यापिठको हो। जहाँ एक खेलकुद प्रतियोगितामा ११ वर्षीय बालकको खोपडी भालाले छेडेको थियो।
विद्यालयका प्रधानाध्यापक अरुणभा बजानीका अनुसार ज्याभ्लिन थ्रो प्रतियोगिताको क्रममा ११ वर्षीय सौरजित बेरा एक्कासी खेलमैदानमा प्रवेश गरेका थिए। जसकारण उनको खोपडीमा भाला घुस्यो।
प्रतियोगिताकै क्रममा भएको दुर्घटना लगतै सौरजितलाई कोलकाताको एसएसकेएम अस्पताल पुर्यायो। काठको भाला निकाल्न डाक्टरहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गरे।
शल्यक्रिया गरेर भाला त निकालियो तर दुर्भाग्यवस, चोटले उनको शरीरको बाँया भाग आंशिक प्यारालाइसिसको शिकार भयो। अहिले उनको शरीरको बायाँ भागले काम गर्दैन। हाल अस्पतालले सौरजितलाई विशेष निगरानीमा राखेको छ।
यस प्रकारको प्रतियोगिता आयोजना गर्दा विशेष सावधानी अपनाउनुपर्ने तर्फ विद्यालयले ध्यान दिन नसक्दा यस्तो दुर्घटना हुन पुगेको परिवारजनले आरोप लगाएका छन्।