काठमाडौँ – ठूलो मात्रामा विदेशी मुद्रा सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट ठूलो मात्रामा अमेरिकी डलरसहित पोखरा तर्फ गैरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका गगनगौडाबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ ढुन्डु गुरुङ रहेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। काठमाडौँबाट ठूलो मात्रमा अमेरिकी डलर बोकेर आएको भन्ने सुराकीको आधारमा उनलाई माईक्रो बसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट १ लाख ९४ हजार २ सय अमेरिकन डलर बरामद भएको छ। उक्त डलर नेपालीमा २ करोड ३२ लाख भन्दा बढी हुन आउँछ। गुरुङको साथबाट २ वटा मोबाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको छ।
पक्राउ परेका गुरुङले काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेका थिए। उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।