एजेन्सी – बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीले ओस्मान डेम्बेलेलाई आफ्नो योजनामा समावेश गर्ने बताइसकेका छन्। घाइते भइरहने डेम्बेलेलाई सक्दो बढी मौका दिने जाभीको योजना रहेको छ।
डेम्बेलेको बार्सिलोनामा सम्झौता सन् २०२२ को जुन अन्तिम सम्म मात्रै छ। घाइते भइरहने भएपनि डेम्बेलेलाई सम्झौता थप गर्न राजी गराउन बार्सिलोनाले लगातार प्रयास गरिरहेको छ।
तर पछिल्लो एक खबरलाई मान्ने हो भने डेम्बेलेले बार्सिलोनामा सम्झौता थप नगर्न सक्छन्। बार्सिलोना छाडेर उनी प्रिमियर लिग क्लब न्यु क्यासल जान सक्ने सम्भावना देखिन्छ।
केहि समय अगाडी मात्रै साउदी अरेबियाको सार्वभौम धन कोषले किनेको उक्त क्लबले डेम्बेलेलाई प्राथमिकतामा राखेको बेलायती संचार माध्यमहरु बताउँछन्। डेम्बेलेलाई आउने ट्रान्सफर विन्डोमै अथवा उनको सम्झौता सकिएपछि भित्र्याउने न्यु क्यासलको योजना रहेको छ।
अग्रिम सम्झौताको सम्भावना
डेम्बेले यस सिजनको अन्त्य पछि फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन् भने उनले जनवरीमै जुनै पनि क्लबसंग अग्रिम सम्झौता गर्न पाउनेछन्। यसको अर्थ यो हुन्छ कि डेम्बेलेले सम्झौता थप गर्न नचाहेको खण्डमा डेम्बेलेले सित्तैमा क्लब छाड्ने छ र बार्सिलोनाले ठूलो घाटा बेहोर्ने छ।
डेम्बेले सन् २०१७ मा बार्सिलोना पुगेका थिए। बोरुसिया डर्टमण्डबाट बार्सिलोनाले उनलाई १ सय ५ मिलियन युरोमा किनेको थियो। बार्सिलोना आएयता डेम्बेलेले खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। लगातार घाइते हुँदै आएका उनी धेरै जस्तो मैदान बाहिर रहने गरेका छन्।

